लक्ष्मीमार्ग । लकडाउन उल्लंघन गर्दै कुदाएको मोटरसाइकलले ठक्कर दिँदा बिहिबार साँझ मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत इन्सपेक्टर चेतन बाह्रकोटी घाइते भएका हुन् ।

झापाको बी एण्ड सी अस्पतालमा भर्ना गरिएका बाह्रकोटीको दाहिने कुमको जोर्नी खुस्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

लकडाउनका समयमा मोटरसाइकल चलाएको पाइएपछि सशस्त्रको टोलीले रोक्न खोजेको थियो। रोक्न खोजेकै मोटरसाइकलले ठक्कर दिँदा घटना भएको डीएसपी राईले बताए। मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका– १ का २९ वर्षीय तीर्थबहादुर राई र पछाडि सवार १९ वर्षीय सुजन राईलाई नियन्त्रणमा लिइएको छ।