पथरीशनिश्चरे /पछिल्लो समयमा विदेशबाट आएका मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि घर पठाइएको छ ।
मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई शुक्रबार घर फिर्ता गरिएको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जनाए । ९ जनालाई क्वारेन्टाइनबाट जिम्मा लिएर नगर प्रमुख राईले ल्याउनु भएको छ । हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएका १ जनाको भनें स्वास्थ्य परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । नगरबाट छिमेकी देश बाहेकका तेस्रो मुलुक गएर आएकाको संख्या २२ रहेको थियो ।
यसैबीच, कोरोना भाइरसको संक्रमणबाट वच्न गरिएको लकडाउनलाई अवज्ञा गर्ने क्रम बढेपछि इलाका प्रहरी कार्यालय पथरीले शुक्रबार ३६ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले जनाए । यस क्रममा १ सय जनालाई २ घण्टा सडकमा राखेर कोरोना भाइरस र त्यसको संक्रमणबाट हुने महामारीका बारेमा प्रतिक्षण दिएर छोडिएको उनले बताए । टफिक नियम उल्लघन गर्नेहरुलाई जरिवार समेत गराइएको छ ।