भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट रातको समयमा निस्केर आउने जंगली हात्तीको समूहले यहाँका किसानले लगाएको बाली नष्ट गर्दै आएको छ । दिनहुुँ वन्यजन्तु आरक्षबाट निस्केर आउने हात्तीको समूहले किसानले लगाएको मकै,केरा, गहुँ खेती नष्ट गर्नुका साथै कोशी गाउँपालीका क्षेत्रका सर्वसाधारणलाई आतंकित बनाउदै आएको छ ।
वर्षौंदेखि हात्ती आतंक जारी रहेपनि रोकथामका लागि आरक्ष प्रशासनले ठोस कदम न चालेको पीडित गुनासो गर्छन् । हिजो बुधबार राती कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले कोशी गाउँपालीका क्षेत्रका किसानले १० बिघा क्षेत्रफलमा लगाएको मकै खेती नष्ट गरिदिएको बताइएको छ ।
वर्षौंदेखि कोशी पीडित जनता हात्ती,अर्ना,बदेल सहितका कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने जंगली जनावरबाट पीडित भएपनि समस्या समाधान गर्न आरक्ष प्रशासनले तदारुकता न देखाएको नेकपा सुनसरीका जिल्ला सदस्य अजय कुशियैतले जानकारी दिए ।
कोरोना भाइरसको महामारीको बेला सर्वसाधारण
लकडाउनमा रहेको बखत कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीसहित जनावर दिनहुँ गाउँबस्तीमा आएर सर्वसाधारणलाई आतंकित बनाएर हजारौंको बाली नष्ट गर्दै आएको उनको भनाइ छ । आरक्षबाट निस्केर आउने हात्तीको समूहले घरमा तोडफोड गर्दै किसानले लगाएको बालीनाली नष्ट गर्ने गरेको छ । हात्ती पीडितहरुले कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरी,प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मलाई पटकपटक समस्या समाधान गर्न आग्रह गरेपनि कुनै सुनुवाइ भएको पाइदैन ।
कुशियैत भन्छन् पीडित पक्षले सम्बन्धित निकायका साथै गाउँपालीका अध्यक्ष र मन्त्रीलाई गुहार गर्दै थाकिसकेका छन्, अब पीडित किसान र जनता कहाँ र कुन निकायमा गएर समस्या राख्ने रु । यो समस्या समाधान गर्ने कुनै उपाय र निकाय छ कि छैन रु उनले प्रश्न गरे । समस्या समाधान गर्न सम्बन्धित निकायका साथै सबैमा कुशियैतले आग्रह गरेका छन् ।
































