धरान / कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन गरेको समयमा धरानस्थित नेपाली काङ्ग्रेसका स्थानीय नेताहरु अनुगमनको नाममा राहत वितरण स्थल, स्वास्थ्य संस्थालगायतमा पुगेर भीड भाड बढाएको गुनासो बढेको छ ।

कोरोना एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सके सम्म घरमै बस्न भन्दै सरकारले लकडाउनको घोषणा गरेको बेला अनावश्यक भीड बनाउन काङ्ग्रेसले मलजल गरेको प्रतिपक्ष दलका नेताहरुले बताएका छन् ।

नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, उपमहानगरका पूर्व सभापति किशोर राईलगायतको टोली वडाहरुको राहत वितरण स्थल, तरकारी बजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रशासन कार्यालयहरुलगायतमा अनुगमन गरेको समाचार वाहिर आएको थियो ।

अनावश्यक भीडले अनुगमनको नाममा निस्कीएको समुह पनि कोरोनाको संक्रमणमा पर्न सक्ने प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् । यस्तो समयमा आफुखुशी अनुगमन टोली बनाएर हिड्नु उचित नभएको इलाका प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन् । अनुगमनका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कार्यविधि अनुसार राजनीति दलसहितको बनाएको टोलीलाई सुझाव दिने र पारदर्शी बनाउन खवरदारी गर्न सक्ने छ । तर आफै हिड्नु उचित नहुने बताइएको छ ।
राजनीतिक दलहरुले यो बेला राजनीतिक गर्ने काम नभएर राहत संकलनमा सहयोग गर्ने र दाता खाेज्न काम मात्र भएको नेकपाका नगर नेता राजमणी निरौलाले बताए । सस्थानीय, प्रदेश र संघीय सरकारले बनाएको आधिकारीक अनुगमन समितिले अनुगमन गर्ने जिम्मेवार भएको निरौला बताउछन् । काङ्ग्रेसले यस्तो संकटको बेला पनि राजनीतिक गरेको उनको भनाई छ ।
धरानमा राहत कोष उपमहानगरका मेयर तिलक राईको संयोजकत्वमा बनाएको छ । सोही समितिले अनुगमन गर्ने अधिकारी भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले बताए । समितिले अनुगमन गरिरहेको बताउदैं राजनीतिक दलहरुको अनुगमनबारे आफुलाई थाहा नभएको उनले बताए ।