बिर्तामोड । झापाको बिभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेकामध्ये झण्डै पचास प्रतिशत घर फर्किएका छन् ।

क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना बस्दै आएका थिए । अब १३८ जना बाँकी छन् । झापामा भारत लगायत विदेशी मुलुकबाट हालसम्म ५९४ स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना भाइरस संक्रमणको शंकामा मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएका सातमध्ये स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको कोरोना रोकथाम, उपचार, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

पोर्तेलले क्वारेन्टाइनमा बसेकामा १४ दिनसम्ममा रोगको कुनै लक्षण नदेखिए घर फर्काउन सकिने बताए । उनले कोरोना जाँच गर्ने ठाउँ प्रदेश नं १ भरिमा धरानमा मात्र भएको र त्यहाँ एक दिनमा १२ जनाको मात्र जाँच गरिने हुँदा हाल आइसोलेसनमा रहेकाको मात्र जाँच गरिएको जानकारी दिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वारेन्टाइनको अवधि पूरा गरेर घर फर्किनुअघि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि हुने गरी उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने बताए ।

झापाका सबै स्थानीय तहले पहल गर्ने हो भने कोरोना भाइरस पत्ता लगाउन ल्याव स्थापना गर्न सकिने उल्लेख गर्दै पोखरेलले प्रदेश सरकारसँग यस विषयमा ध्यानाकर्षण गराउँदा जाँच्ने किट अभावले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्न नसकिने जवाफ पाइएको जानकारी दिए ।

जिल्लाका क्वारेन्टाइनको अनुगमन गरेका नेपाली काङग्रेस झापाका सभापति उद्धव थापाले नेपाली सेनाले व्यवस्थापन गरेको कलबलगुडीको क्वारेन्टाइन र मेचीनगरको एउटाबाहेक झापाका अधिकांश क्वारेन्टाइन समस्याग्रस्त भएको बताए ।

अधिकांश क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण पाउन नसकेको गुनासो सुनाएको उनको भनाइ छ । घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी स्थानीय तहबाटै भइरहेको छ । त्यस्ता व्यक्तिहरु कोरोना संक्रमण भइसकेको तेस्रो मुलुकबाट समेत आएको हुँदा उनीहरुको स्वाब परीक्षण हुनुपर्ने माग गरिन थालेको छ ।