भण्टाबारी । लकडाउनको समयमा छिमेकी देश भारतबाट कोरोना संक्रमित व्यक्ति भित्रीन सक्ने भन्दै सुनसरीमा सशस्त्र प्रहरीले थप निगरानी बढाएको छ ।
भारतसँगै विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस सुनसरीको सीमा नाकाबाट संक्रमित कोही व्यक्ति भित्रीन नदिने उद्देश्यले थप १० स्थानमा नयाँ बेस क्याम्प थप्दै निगरानी थालिएको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ ।

कोरोना भाइरस भारतबाट जिल्लाका सीमा नाका हुँदै नेपालमा भित्र सक्ने भन्दै सीमावर्ती क्षेत्रमा रहेका ९ वटा बिओपीका साथै थप १० स्थानमा बेस क्याम्प स्थापना गरी मंगलबारबाट निगरानी बढाएको सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए ।

एसपी ढकालका अनुसार नोबेल कोरोना भाइरस संक्रमित व्यक्ति रोकथामका लागि सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा चार,हरिनगरमा दुई, बर्जुमा दुई, देवानगंज र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा एक एक वटा बेस क्याम्प स्थापना गरी निगरानी थालिएको हो । सुनसरीमा भण्टाबारी,श्रीपुर,लौकही,लाही,घुस्की,अमडुव,साहेवगंज, कप्तानगंज र बसन्तपुर गरी सीमा सुरक्षाका लागि नौ वटा बिओपी स्थापना गरिएका छन् ।

ति बाहेक कोरोना संक्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले कोही संक्रमित व्यक्ति भारतबाट भित्री नदिनका लागि कोशी गाउँपालीका वार्ड नम्बर ८ कोशी ब्यारेज, भण्टाबारीस्थित पूर्वी टोल, कोशी गाउँपालीका वार्ड नम्बर ६ स्थित यादव टोल र वार्ड नम्बर ५ कुम्याहीमा नयाँ बेस क्याम्प स्थापना गर्दै निगरानी थालेका छन् । यसैगरी सशस्त्र प्रहरी बल सुनसरीले हरिनगर गाउँपालीका वार्ड नम्बर ५ स्थित शिसुवाधर्मपुर र वार्ड नम्बर ६ स्थित अर्नमामा बेस क्याम्प स्थापना गरेका छन् भने बर्जु गाउँपालीकाको वार्ड नम्बर ३ स्थित हरिवन र वार्ड नम्बर ४ स्थित पाल टोलमा बेस क्याम्प स्थापना गर्दै सीमामा निगरानी थालेका छन् । त्यसैगरी भारतसँग सीमा जोडिएका जिल्लाको देवानगंज गाउँपालीका वार्ड नम्बर ३ स्थित पाचोसिमर र भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर ६ स्थित इस्राइल कामतमा बेस क्याम्प स्थापना गरिएका छन् ।

यसका साथै सो बेस क्याम्पभित्र पर्ने सानाठुला ५५ वटा नाकाहरुको पहिचान गर्दै उक्त क्षेत्रमा पोष्टहरुसमेत स्थापना गरी सशस्त्र प्रहरी परिचालन गरेको एसपी ढकालको भनाइ छ् । भारतबाट संक्रमित व्यक्ति आउने र समुदायमा घुलमिल हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त पोष्टहरु स्थापना गरी सशस्त्र प्रहरी ड्युटीमा परिचालित भईसकेको उनले बताए । बेस क्याम्प र पोष्टहरु स्थापना गरिनुका साथै नेपाल भारतबीच भएको खुल्ला सीमानाको फाइदा उठाएर चोरबाटो बाट समेत संक्रमित मान्छे भित्रीन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेक्टर विभाजन गरी सीमा सुरक्षा बल सुनसरीबाट दुईजना इन्स्पेक्टरको कमान्डमा बोर्डर क्षेत्रमा गाडी तथा पैदल गस्ती खटाइएको एसपी ढकालले जानकारी दिए ।

कोरोना भाइरस ९कोभिड १९० नेपालसँग खुला सीमा जोडिएको भारतमा सङ्क्रमितको संख्या बढ्दो क्रममा रहेकोले सुनसरीको सीमावर्ती क्षेत्रका साथै कोरोना भाइरस भित्रीन सक्ने अरु सम्भावित स्थानको पहिचान गरी उक्त भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको उनले बताए । सशस्त्र प्रहरीले सीमा सुरक्षामा निगरानी बढाउनुका साथै क्वारेन्टाइन सुरक्षाको जिम्मेवारी समेत बहन गर्दै आएको ढकालले बताए । हरिनगर गाउँपालीका वार्ड नम्बर १ भुटाहास्थित जेनरल हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा भएका १९ जनाको निगरानी सशस्त्र प्रहरीले गर्दै आएको बताउदै उनले थप क्वारेन्टाइन बनाइएमा समेत सुरक्षार्थ खट्न सशस्त्र प्रहरी तयारी अवस्थामा राखेको बताए ।

भारतसँग खुल्ला सीमाका कारण संवेदनशिल मानिएको सीमा सुरक्षामा १०० सशस्त्र प्रहरी थप गरी निगरानी तथा गस्ती बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । कोहि कोरोना संक्रमित व्यक्ति भेटिएमा नजिकैको प्रहरी वा स्वास्थ्यकर्मीलाई तत्काल खबर गर्न आग्रह गर्दै एसपी ढकालले त्रसित नभई सावधानी अपनाउन आग्रह गरेका छन् । सरकारले गरेको लकडाउनको पालना गर्न,अत्यावश्यक कामबाहेक घरबाहिर न निस्कन, भिडभाड न गर्न,समय समयमा सेनिटाइजर,साबुनपानीले हात धुन सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले समेत बजार एरिकाका साथै गाउँ गाउँमा माइकिङ गर्दै आएका छन् ।