धरान । धरान उपमहानगरपालिकाले गरिब तथा अतिविपन्न परिवारलाई लक्षित गर्दै ‘फुड बैङ्क’ स्थापना गरेको छ ।

उपमहानगरले दाता तथा सहयोगीहरूलाई फुड बैङ्कमा सहयोग गर्नका लागि अपिल गरेको छ । यसक्रममा धरान जेसीजले १ टन चालम फुड बैङ्कका लागि प्रदान गर्ने भएको छ ।

धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाका अनुसार फुड बैङ्कका लागि एक हजार केजी चामल वितरण गर्न लागिएको बताए । उनले धरान उपमहानगरपालिका मै पुगेर चालम हस्तान्तरण गरिने बताए । जथाभावी बाड्दा थप कोरोनाको संक्रमणको जोखिम हुने भएकाले बैङ्कलाई नै प्रदान गर्न लागिएको उनले बताए ।

अहिले विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको पहलमा वडाका विभिन्न भागमा रहेका अतिविपन्न तथा गरिबहरूलाई खाद्यान्न वितरण गरिरहेका छन् । यसले गर्दा थप जोखिम हुने भन्दै धरान उपमहानगरले ‘फुड बैङ्क स्थापना गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विदुर खनालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘नेपाल सरकारले गरेको लकडाउनका कारणले दैनिक ज्यालामजदुरी गरी गुजारा गर्ने तथा अतिविपन्न नागरिकहरूमा दैनिक खानपानकै समस्या उत्पन्न भएकाले त्यस्ता नागरिकहरूलाई राहत सामग्री वितरण गर्ने प्रयोजनका लागि धरान उपमहानगरले फुड बैङ्क स्थापना गरेको जानकारी गराउँदछौं ।’