धरान । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा भारतमा २ सयभन्दा बढी संक्रमितहरू भेटिएको पुष्टि भएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय २७ जना नयाँ बिरामी थपिएका छन् । भारतमा ३२ जनाको मृत्यु भइसकेको छ । कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ हजार २ सय ५२ पुगेको छ । जसमध्ये १ सय २ जना उपचारपछि घर फर्किएका छन् भने एक हजार एक सय १७ जना अहिले पनि संक्रमित अवस्थामा उपचाररत रहेको आउटलुकले जनाएको छ ।

पञ्जाबको मोहालीमा कोरोनाको संक्रमणबाट मंगलबार ६५ वर्षीय एक बृद्धको मृत्यु भएको छ । सोमबार मात्रै यी बृद्धको स्वाब परीक्षणको क्रममा पोजेटिभ भेटिएको थियो । भारतले विभिन्न स्थानमा शिल गरिरहेको छ । भारतको राजधानी दिल्लीमा हालसम्म ९७ जना कोरोनाबाट संक्रमित बन्न पुगेका छन् ।

दिल्ली सरकारले कोरोना फैलिन सक्ने भन्दै दिल्ली आउने सम्पूर्ण नाकाहरू शिल गरेको छ । भारतमा कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । सोमबारको तथ्याङ्का आधारमा २ सय १६ जनामा कोरोनाको संक्रमण देखिएको हो भने १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै तेलङ्गनामा ६ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रपछि तेलङ्गना बढी प्रभावित बनेको छ ।