धरान । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले मानवीय दूरी कायम गर्न वृतकारीय रेखाङ्कन गरिएको छ ।
इटहरी उपमहानगरी उपमेयर लक्ष्मी गौतमले वृत्तकारीय घेरा भित्र रहेर सामग्री खरिदबिक्री गर्न आग्रह गरेकी छन् । उनले दैनिक उपभोग्य वस्तुको किनबेच गर्दा मानवीय दूरी कायम राख्नका लागि आग्रह गरिन् ।
इटहरीका २० वटा पसलमा डेढ मिटरको दूरी कायम गरेर रेखाङ्कन गरिएको छ । विशेष गरी सब्जी, दूधडेरी र खाद्यान्न पसलमा उपभोक्ताको भीड देखिन थालेपछि कोरोनाको संक्रमणबाट बच्नका लागि दूरी कायम गर्न रेखाङ्कन गरिएको उनले जानकारी दिइन् । अहिले उपभोक्ताले रेखाङ्कनमै रहेर उपभोग्य सामग्री खरिद गरिरहेका छन् । विश्वलाई कोरोनाले आक्रान्त पारिरहेका बेला नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । सोही लकडाउनका कारण दैनिक उपभोग्य खरिदबिक्रीमा समस्या भएपछि इटहरी उपमहानगरले मावनीय दूरी कायम गर्न रेखाङ्कन गरेको हो ।
यसक्रममा खाद्य वस्तुमा मनपरी मूल्य लिइरहेको जनगुनासोको आधारमा उपमेयर गौतमसहितको टोलीले अनुगमन गरेको थियो । उनका अनुसार आलु, प्याजका थोक पसलहरूको अनुगमन गरिएको छ ।