बिर्तामोड । कोरोना भाइरस रोकथाम, उपचार अनुगमन तथा समन्वय समितिको बैठकले चारआलीस्थित नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा १०० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने १०० थान खाट निर्माण तथा क्वारेन्टाइन निर्माण लागत खर्च अनुगमन तथा समन्वय समिति झापाले व्यहोर्ने गरी नेपाली सेना श्री नयाँ श्रीनाथ गणलाई जिम्मा दिने निर्णय समितिले गरेको हो ।

समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार अन्य आवश्यक क्वारेन्टाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने पनि निर्णय गरिएको छ । त्यसका लागि अर्जुनधारा नगरपालिका स्थित दीपज्योति वोर्डिङ स्कुलको भवन, विर्तामोड नगरपालिकाको अग्रसेन भवन, अतिथि सदन र कन्काई नगरपालिकास्थित कोटीहोम क्षेत्रका भवनहरुमा सम्भाब्यता अध्ययन गर्ने निर्णय बैठकले गरेको संयोजक पोर्तेलले बताए ।

झापाका १५ स्थानीय तहले आइतवारसम्म २० वटा क्वारेन्टाइनमा ३९५ बेड निर्माण गरेका छन् । सबैभन्दा बढी बिर्तामोडमा ९० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । आइतवारसम्म ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ