धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा कोरोनाभाइरसबाट आशङ्का लागेकाहरूको स्वाब काठमाडौंको टेकु अस्पतालमा पठाइएको थियो । पठाएका १९ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । उनका अनुसार यसअघि १६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने ३ जनाको रिपोर्ट आउन बाँकी रहेको थियो । थप तीन जनाको रिपोर्ट पनि आइतबार आएको छ । उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

तर, रिपोर्ट नेगेटिभ आए पनि सुरक्षित रहेर बस्नका लागि उनले आग्रह गरे । धरानमा आइतबारट स्वाबको परीक्षण हुन थालेको छ । अब भने प्रदेश १ र २ का कोरोना संक्रमितहरूको स्वाब परीक्षण धरानमै हुने भएको हो । रिपोर्टको आधारमा उपचारको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । हाल नेगेटिभ आएका बिरामीहरू पनि आइसोलेसन र क्वारेन्टाइनमा बसिरहेका छन् । कतिपय भने सेल्फ क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए ।

बीपीमा कूल ९८ जनाको स्क्रिनिङ गरिसकिएको छ । जसमा ७ जना सरकारले तयार पारेको क्वारेन्टाइनमा रहेका छन् भने ७९ जना सेल्फ आइसोलेसनमा रहेका छन् । बीपीमा आंशका लागेका १ जना नयाँ बिरामी भर्ना गरिएको छ भने ३ जना पुरानै बिरामी रहेका छन् । जसको रिपोर्ट नेगेटिभ आइसकेको छ । ६ जना डिस्चार्ज भइसकेका छन् ।