भद्रपुर । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय झापाले स्वदेश फर्किनेहरूको तथ्याङ्क सङ्कलन थालेको छ । प्रहरी कार्यालय झापाले अहिलेसम्म ५ सय बढीको सङ्कलन विवरण भरिसकेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्वदेश फर्किनेहरूको घर—घर पुगेर तिनीहरूको शारीरिक स्वास्थ्य अवस्था, कहिले फर्किएको, कसरी नेपाल प्रवेश गरेको र आएपछि कहाँ बसेको, को–कोसँग भेटघाट गरेको, सेल्फ क्वारेन्टाइनमा बसे नबसेको लगायतका सबै विवरण सङ्कलन गरेको उनले बताए । स्वास्थ्यकर्मीले गर्नुपर्ने काम नेपाली प्रहरीले गर्दा समस्या भइरहेको छ उनले जनाए । प्रहरीलाई राज्यले कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध नगराए पनि जिल्लावासीको ज्यानको सुरक्षाका लागि प्रहरी त्यस अभियानमा लागि परेको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

अहिले स्वदेश फर्किएकाहरूको अनिवार्य थ्रोट स्वाब परीक्षण गर्नुपर्ने भएपनि किट अभावले स्वाब परीक्षण गर्न नसकिरहेको उनले जनाए । अहिलेसम्म जिल्लामा सङ्क्रमित बिरामी फेला नपरे पनि खतराको सङ्केत अन्य जिल्लाबाटै देखापरिसकेको उनको भनाई छ । तत्काल सेल्फ क्वारेनटाइन र क्वारेनटाइनमा बसेका सबैको थ्रोट स्वाब परीक्षण गर्नु अहिलेको परिस्थितिमा आवश्यक देखिएको उनको भनाइ छ ।