धरान । लकडाउनका कारण विभिन्न स्थानमा फसेका पर्यटकहरूको नेपाल सरकारले उद्धार गरेको छ ।

देशका विभिन्न स्थानमा फसेका ९ सय ६४ जना पर्यटकको उद्धार गरिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार र शनिबार गरेर पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याइएको छ । उनीहरूलाई सुरक्षित तरिकाले आआफ्नो मुलुक फर्काइरहेको जनाइएको छ । कतार एयरवेजमार्फत् करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकमा पठाइसकिएको बोर्डले जनाएको छ ।

विशेष गरी पोखरा र लुक्ला क्षेत्रबाट पर्यटकहरूको उद्धार गरिएको हो । त्यस्तै जोमसोम, अन्नपूर्ण आधारशिविर, मनास्लु, गोरखा, कान्दे, ताप्लेजुङ र बेनीबाट उद्धार गरिएको छ । उनीहरूसँग खटिएका गाइड, भरिया तथा अन्य सहयोगीको पनि आइतबारबाट उद्धार थालिएको छ ।