धरान । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि गरिएको लकडाउनले मजदुरहरू फसेको भन्दै कङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेकी छन् ।

अध्यक्ष गान्धीले मोदीलाई शनिबार पत्राचार गर्दै लकडाउनमा फसेका मजदुरहरूलाई चाँडो उद्धार गर्नका लागि आग्रह गरेकी छन् । उनले सडक तथा बाटोहरूमा फसेका मजदुरहरूलाई उद्धार गर्नका लागि राष्ट्रिय स्तरको परामर्श गर्नका लागि आग्रह गरेको आउटलुकले लेखेको छ ।

उनले पत्रमा घरका लागि हिँडेका जो अहिले बाटोमा फसिरहेका छन् उनीहरूलाई तत्काल घरसम्म पुग्ने व्यवस्था गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरेका हुन् । उनले राष्ट्रियस्तरको परामर्श गर्दै ती मजदुरहरूका लागि सरकारी स्तरको सवारी साधनहरू उपलब्ध गराउन आग्रह गरिन् ।

लाखौं मजदुरहरू सडक तथा होटलमा अलपत्र परिरहेकाले उनीहरूलाई तत्काल घरसम्म पुग्ने व्यवस्था गर्न उनले पत्रमा आग्रह गरेकी छन् ।