पथरीशनिश्चरे । कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । साथै वन्द उल्लघन गर्ने नगरवासीमाथि कडा अनुगमन् गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरवासीलाई घरभित्रै रहन निर्देशन दिनुका साथै पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको नगर प्रवक्ता एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले जनाए ।

गुरागाईंले कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला केही नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै विहीवार पनि माइकिङ गरेको जानकारी गराए । नगर प्रमुख दिलीपकुमार राई, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले पनि कोरोनाको संक्रमण फैलिन नदिन गरिएको ‘लकडाउन’को अवस्था निरीक्षण गर्दै नगरवासीलाई घरभित्रै वस्न सचेत गराएका थिए ।

त्यस्तै, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज वडा नम्वर १, २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडामा माइकिङ गरिएको छ ।   इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी सहितको नगरको टोलीले बाहिर हिडडुल गरिरहेकाहरुलाई घरभित्रै वस्न सूचित समेत गरेको छ । कतिपय ठाउँमा भेटिएका समूहलाई कडा चेतावनी समेत दिएर घर पठाइएको छ । सो क्रममा उपप्रमुख विष्टको अगुवाईको टोलीले हसन्दह सहितका केही पसलमा खाद्यान्नको अवस्थाको समेत अनुगमन् गरेको छ । साथै टोलीले नगर अस्पतालमा निर्माण भएको आइसोलेसन् तथा स्वास्थ्य गतिविधि तथा हसन्दह स्वास्थ्य चौकीको स्वास्थ्य गतिविधि पनि अनुगमन् गरेको छ । बुधवार पहिलो दिन वडा नम्वर १ र १० मा माइकिङ गरिएको थियो । केही स्थानमा भनें स्थानीयले नै सडकमा आवत जावत गर्न रोक लगाउन बाँसले सडक छेकेर सजकता अपनाएको समेत पाइएको छ ।

      मास्क  वितरण

 नगरपालिका कार्यालयले विपन्न समुदाय तथा ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई केन्द्रीत गरेर मास्क वितरण समेत गरेको छ । नगरकातर्फबाट वडा नम्वर २ मा मास्क सिलाउने र केही वितरणको काम भइरहेको छ । वडा कार्यालयहरुले समेत आआफ्नातर्फबाट मास्क निर्माण गरी वितरण कार्य अघि बढाएका छन् । जसमा वडा नम्वर ९ ले ५ सय मास्क तयार गरेर ज्येष्ठ नागरिकलाई केन्द्रीत गरी विहीवार वडावासीमा मास्क वितरण गरिएको वडाध्यक्ष भानुभक्त राईले वताए । हातधुने वाल्टीहरुको पनि व्यवस्था गरिएको छ ।

 वडाको विपत व्यवस्थापन कोषबाट ८ नम्बर वडाले ८ सय मास्क र १० थान हात धुने बाल्टी वडाका आवश्यक ठाउँमा वितरण गरेको वडाध्यक्ष बाबुराम दहालले जनाए ।  बिपन्न ,सुत्केरी, गर्भवती र अशक्तहरुलाई मास्क थालिएको छ ।

 १० नम्वर वडाध्यक्ष सागर राईले अमेरिकामा रहनु भएका आफ्ना बुबा गुल्सन राईसँगको सहकार्यमा ४ सय मास्क वितरण गर्नुभएको छ । वडा नम्वर ४ मा पनि मास्क निर्माण भइरहेको छ । अन्य वडामा पनि मास्क निर्माण गर्दै वितरणको कार्य थालिदैछ ।

त्यस्तै, नगरस्थित नेकपाको १० नम्वर वडा कमिटीले ३ सय मास्क सिलाएर वडाका ज्येष्ठ, विपन्न समुदायलाई वितरण गरिएको कमिटीका वडा संयोजक प्रेम ढकालले वताए । उता, राष्ट्यि युवा संघले नगरका विपन्नहरुका लागि खाद्यान्न वितरणको कार्यक्रमका लागि खाद्यान्न संकलन गरिरहेको छ  ।

      ५ जना क्वारेन्टाइनमा

गत चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित युवती चढेको बिमानमा आएकामध्ये ४ जना पथरीशनिश्चरेकालाई मिक्लाजुङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ । नगरकै एक महिलालाई समेत त्यहाँ पठाइएको पथरी नगर अस्पतालले जनाएको छ । तत्कालका लागि उनीहरुका परिवारलाई भने होम क्वारेन्टाइनमा नै सुरक्षित रहन अनुरोध गरिएको छ ।