धरान । सरकारले गरेको ‘लकडाउन’ लाई सक्रियताका साथ लागू गराउनका लागि धरान उपमहानगरपालिकाले अत्यावश्यक र औषधिबाहेक सबै सेवा ठप्प गर्ने भएको छ ।
धरान उपमहानगरपालिकामा मङ्गलबार सुरक्षासहितको बैठकले पूर्ण रूपमा ‘लक डाउन’ गर्न लागेको हो ।
विस्तृतमा ...................
धरान । सरकारले जारी गरेको ‘लकडाउन’ लाई पूर्ण कार्यान्वयन गराउन धरान उपमहानगर भोलिदेखि ‘पूर्ण लकडाउन’ गरिने निर्णय गरिएकाे छ ।
पूर्वको रेफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै रहेकाले कोरोनाबाट प्रभावित बिरामीहरू ल्याउनु र लानु पर्ने अवस्था भएकाले धरानलाई पूर्ण रूपमा लकडाउन गर्न लागिएको धरान उपमहानगरका प्रमुख तिलक राईले जानकारी दिए ।
बैठक सकिएलगत्तै उनले भने, ‘हामीले दबाईबाहेक सबै पसलहरू बन्द गर्ने निर्णय गरेका छौं ।’ उनका अनुसार धरानमा बीपी प्रतिष्ठान भएकाले संक्रमणको खतरा बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आजदेखि आंशिक र भोलिबाट पूर्ण लकडाउन गरिन्छ ।
आज (मंगलबार) सूचना जारी गरिँदै छ । अतिआवश्यकीय वस्तुहरूको पसल पनि बन्द गरिने भएको छ । कसैलाई उपभोग्य वस्तुको आवश्यकता भएको महसुस गरेमा त्यस्ता व्यक्ति तथा नागरिकलाई प्रशासनको सक्रियतामा घरमै लगिदिने व्यवस्थासमेत गरिन लागिएको छ ।
त्यसका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको सक्रियतामा खाद्यान्नलगायतमा आपूर्ति गर्ने छ । आपूर्ति गर्दा पनि संक्रमणलाई मध्यनजर गर्दै हात धुनेलगायतका विभिन्न उपायबारे चिकित्सकहरूले जानकारी गराउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले जानकारी दिए । बैठकमा समेत सहभागी रहेका सहप्रवक्ता ऐरले भने, ‘खाद्यान्नलगायत आपूर्ति गर्दा पनि सर्ने सम्भावना बढी हुने भएकाले हामीले त्यसबारे सचेतताको उपायबारे जानकारी दिनेछौं । त्यहाँ हाम्रा चिकित्सकहरूको सहभागिता रहनेछ ।’
धरानमा लकडाउनको प्रभाव कम परेका कारणले मानिसहरूले यो रोगलाई सामान्य रूपमा बुझेका कारणले पनि पूर्ण रूपमा लक डाउन गर्न लागिएको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।
बैठकमा धरान उपमहानगरपालिकासहित बीपीकेआइएचएस, सुनसरी उद्योग वाणिज्य सङ्घ, कृषि उपज बजार स्थल धरान, पालिका तरकारी बजारका प्रतिनिधि, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प धरान, नेपाली सेनाका अधिकारीहरू छलफलमा बसेका थिए ।