धनकुटा/ धनकुटामा ग्यास वितरण गर्ने क्रममा उपभोक्ता र ग्यास व्यवसायीबीच सोमबार बिहान आपसमा विवाद भएको छ ।

कोरोनाको त्रासले लामो समयदेखि ग्यास आपूर्ति नहुँदा हाहाकारमा परेका धनकुटेली उपभोक्ताहरूले धनकुटा–७ का कोशी ग्यास व्यावसायी नारायणमान श्रेष्ठसँग गोदाममा ग्यास लिन आउँदा नदिने भनेपछि विवाद भएको हो । ग्यास व्यावसायी श्रेष्ठले सोमबार बिहान को.१ क १२५७ नम्बरको पाथीभरा ट्राभल्सको फुलबडी ट्रकमा ४ सय सिलिण्डर धनपा–७ जिरोपोइण्टमा रहेको उनको गोदाममा झारेका थिए ।

करिब बिहान ६.३० बजे ग्यास गोदाममा आएको उपभोक्ताले थाहा पाएपछि उपभोक्ताहरूले १ घण्टा बित्न नपाउँदै १ सय ५० भन्दा बढी खाली सिलिण्डर लाइनमा राखिसकेका थिए । सिलिण्डरको लाइन जिरोपोइण्टस्थित ग्यासको गोदामदेखि झण्डै बिजुली अफिससम्म पुगेको थियो । खाली सिलिण्डर आउने क्रम जारी नै थियो, सोही क्रममा ग्यास व्यावसायी नारायणमान श्रेष्ठ ८.३० बजे १ दर्जन जति प्रहरी अगाडि पछाडि लगाएर आएका थिए ।

प्रहरीका साथमा आएका ग्यास व्यावसायी श्रेष्ठले आफूले ग्यास दिन नसक्ने बरु घर–घरमै पु¥याइदिने बताए । यता बिहान साढे ६ बजेदेखि ग्यासको खाली सिलिण्डर लिएर लाइनमा बसेका १ सय ५० भन्दा बढी उपभोक्ताले पनि ग्यास नलिई नजाने भन्दै को.१ क १२५७ नम्बरको ग्यास लोड भएको ट्रक घेराउ गरेका थिए ।

सोही क्रममा ग्यास लिन गोदाममा पुगेका केही उपभोक्ताहरू र श्रेष्ठ बीच आपसमा विवाद शुरु भएको थियो । विवादको क्रममा उपभोक्ताहरूले ग्यास घर–घरमा पु¥याउने बहानामा महँगो मूल्यमा बेचेर कालोबजारी गर्ने गरेको आरोपसमेत लगाएका थिए । ग्यास व्यावसायी श्रेष्ठले पनि घर–घरमा सेवा गरेबापत प्रतिसिलिण्डर २५ रुपैयाँ बढी लिने गरेको स्वीकारेका छन् ।

घर–घरमा पु¥याएर २५ रुपैयाँ बढी लिएको भन्दा पनि गोदाममा ३ घण्टादेखि खाली सिलिण्डर लिएर बसेका उपभोक्ता र व्यावसायीको आ–आफ्नै अडानका कारण विवाद चर्किएको थियो । सोही क्रममा हात हालाहालसम्मको परिस्थति सिर्जना भएपछि थप प्रहरी र सशस्त्र प्रहरीको एक टोली आएपछि प्रहरीको सहयोगमा करिब साढे ९ बजेदेखि ग्यास वितरण गरिएको थियो । केही उपभोक्ता भने ग्यास घरघर मै आउँछ भने पछि रित्तो सिलिण्डर लिएर यस अघि नै घर फर्किए पनि ग्यास नपाएको गुनासो फोनमार्फत् ब्लाष्टलाई गुनासो गरेका छन् ।

कोरोना भाइरसको त्रासको कारण धनकुटामा पछिल्लो समय दिन प्रतिदिन दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन सक्ने स्थानीय उपभोक्ताले बताएका छन् । उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले भने दैनिक उपभोग्य सामग्रीको अभाव बजारमा हुन नदिने दाबी गर्दै आएका छन् । स्थानीय प्रशासनले कुनै पनि स्थानमा २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरे पनि कोशी ग्यास गोदाममा भने २ सयभन्दा बढी मान्छे भेला भएका थिए ।