धनकुटा/ तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले बसमा सवार यात्रु, चालक र सर्वसाधारणलाई मध्यनजर गरी कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने उद्देश्यले वसन्तपुर बजारमा शुक्रबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

लालीगुराँस नगरपालिकाको स्वास्थ्य सेवा शाखाले स्थापना गरेको हेल्थ डेस्कमा त्यहाँ कार्यरत एक जना अहेवलाई ज्वरो नाप्ने इन्फ्रारेड थर्मामिटरसहित राखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव गोमा कोइरालाका अनुसार शुक्रबारदेखि हरेक दिन बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म २ सिफ्टमा हेल्थ डेस्क सञ्चालन गरिने बताइन् ।

हेल्थ डेस्क राखिएको पहिलो दिन करिब ५ सय ५० भन्दा बढी सर्वसाधारणलाई जाँच गरिए पनि कोही कसैमा पनि त्यस्तो अस्वभाविक ज्वरो नभेटिएको अहेव कोइरालाले बताइन् । उनले कोरोना भाइरसको सन्त्रास जताततै फैलिन थालेपछि तेह्रथुम जिल्लामा पहिलोपटक लालीगुराँस नगरपालिकाले वसन्तपुर बजारमा हेल्थ डेस्क सञ्चालन गरेको बताइन् ।

नगरप्रमुख अर्जुन माबोहाङले हेल्थ डेस्क हरेक दिन नगरपालिकाको वडा नं. २ स्थित वसन्तपुर बजारमा रहेको तीनजुरे सामुदायिक सिकाइ केन्द्रमा स्थापना गरी सञ्चालन गरिएकोे बताए । हेल्थ डेस्क आगामी वैशाखको पहिलो हप्तासम्म सञ्चालन गरिने प्रमुख मावोहाङले बताए ।

उनले हेल्थ डेस्क सञ्चालनसँगै वसन्तपुर बजारका विभिन्न चोकमा हात धुने धारा र डिटोल साबुनको समेत व्यवस्था गरिएको बताए । हेल्थ डेस्क सञ्चालन गरेसँगै बसका यात्रु र सर्वसाधारणलाई हेल्थ डेस्कमा बोलाएर जनचेतनामूलक सन्देश प्रवाह गरिरहँदा समुदायमा कोरोना भाइरसका विरुद्ध सकारात्मक प्रभाव परेको प्रमुख मावोहाङले बताए ।

बसका यात्रुलाई हेल्थ डेस्कमा भेला गरी कोरोना भाइरसका मुख्य लक्षणका बारेमा जानकारी दिने काम भने वसन्तपुर बजारमा रहेको ट्राफिक पोष्टका इञ्चार्ज अमृतबहादुर कार्कीले गरिरहेका छन् । इञ्चार्ज कार्कीले हरेक बसमा सवार यात्रु र बसका चालकसहित त्यहाँ कार्यरत कर्मचारीहरूलाई समेत कोरोना भाइरसबाट कसरी बच्ने भन्ने बारे सन्देश प्रवाह गर्ने गरेको ब्लाष्टलाई बताए ।

उनले शुक्रबार पहिलो दिन १२ वटा बसका करिब ६ सय यात्रु र बसका चालकलगायतलाई हेल्थ डेस्कमा उभ्याएर सहजीकरण गरिएको बताए । हेल्थ डेस्कमा हरेक दिन कोरोना भाइरस विरुद्धको जनचेतनामूलक सन्देश प्रवाह गर्ने काम जारी रहने ट्राफिक इञ्चार्ज कार्कीले जानकारी दिएका छन् ।