बिर्तामोड/ कोरोना भाइरस सङ्क्रमणको त्रासले छोटो दूरीको यातायात सञ्चालन प्रभावित भएको छ । पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठका अनुसार झापाको काँकडभिट्टाबाट धरान र विराटनगरसम्म चल्ने बसमा यात्रुको सङ्ख्या घटेपछि बसको सङ्ख्यासमेत घटाइएको छ ।

‘सधैँ काँकडभिट्टाबाट धरान र विराटनगरका लागि झण्डै १ सय ५० वटा बस सञ्चालन हुन्थे, अहिले घटाएर ४०–४५ वटामा झारेका छौं’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिले ३ हजार ५ सय रुपैयाँसम्म कलेक्सन गर्ने बसले अहिले हजार–एघार सयभन्दा बढी ल्याएका छैनन् ।’ उनले छोटो दूरीका सार्वजनिक सवारी साधनमा कोरोनाको त्रासले यात्रुको सङ्ख्या घटेको बताए ।

काँकडभिट्टाबाट लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीको अवस्था भने छुट्टै छ । काठमाडौं जाने २५ वटा बसको सिट प्याक छ । यो सधैँको जति नै सङ्ख्या हो । त्यस्तै पोखरा जाने ८ वटा, मन्थली, चरिकोट, वीरगञ्ज, जनकपुर, गौरलगायतका क्षेत्रमा जाने ११ वटा बसमा पनि यात्रुको सङ्ख्या पहिलेभन्दा बढेको छ ।

‘भारत, बङ्गलादेशलगायतका क्षेत्रमा काम गर्न र पढ्न गएका नेपाली नागरिक अहिले कोरोना सङ्क्रमणको त्रासले नेपाल फर्किंदा लामो दूरीमा यात्रुको सङ्ख्या घटेको छैन’ अध्यक्ष श्रेष्ठले भने, ‘अब लामो दूरीका सार्वजनिक सवारीलाई सञ्चालन नगर्न सरकारले भनेको छ, हामी त्यसलाई कार्यान्वयन गर्छौं ।’ चैत १० गतेदेखि लामो दूरीका सवारी सञ्चालन नगर्न सरकारले व्यवसायीमा आग्रह गरेको छ ।