उदयपुर/  उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ झिल्के चोक निबासी तिलक दनुवार र रोशन दनुवारको मृत्यु भएको हो ।

चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स.१ झ ४७७ नम्बरको ऐम्बुलेन्सले शुक्रबार साँझ ६ बजे चोकछेउमा बसिरहेका स्थानीय ६२ वर्षीय तिलक, १४ वर्षीय रोशन र ३२ वर्षीय राजकुमार दनुवारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका तिलकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको थियो भने रोशनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अर्का घाइते राजकुमारको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाटो छेउमा रोकिराखेको स.४ प १६६२ र बा.१६ प ७९२३ नम्बरको मोटरसाइकलसहित तीन जनालाई ठक्कर दिएको थियो । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री प्रहरीको नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ ।