भण्टाबारी / छिमेकी मुलुक भारतसँगै विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस सुनसरीको सीमा नाकाबाट भित्रिन नदिन १३ स्थानमा हाईअलर्ट अवस्थामा निगरानी थालिएको छ । चीनबाट विश्वभर तीव्र रूपमा फैलिने क्रममा रहेको कोरोना भाइरस भारतबाट जिल्लाका सीमा नाका हुँदै नेपालमा भित्रिन सक्ने भन्दै सीमावर्ती क्षेत्रसहित विभिन्न १३ स्थानमा हाईअलर्ट अवस्थामा निगरानी थालिएको सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए ।
एसपी ढकालका अनुसार बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले नोबेल कोरोना भाइरस रोकथामका लागि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्नुका साथै सीमा नाकामा भइरहेको जाँचलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । जिल्लाका विभिन्न सीमा नाका हुँदै भारतबाट नेपाल आउने सर्वसाधारणबाट उक्त भाइरस भित्रिन नदिन हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको उनको कथन छ ।
कोरोना भाइरस भारतबाट भित्रिन नदिन जिल्लाको भण्टाबारी, श्रीपुर, लौकही, लाही, घुस्की, अमडुवा, साहेवगञ्ज, कप्तानगञ्ज, वसन्तपुर, वराहक्षेत्रसहित १३ स्थानमा हाईअलर्ट अवस्थामा निगरानी थालिएको एसपी ढकालको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा जोडिएको भारतमा समेत सङ्क्रमित भेटिएपछि सुनसरीको सीमावर्ती क्षेत्रका साथै कोरोना भाइरस भित्रिन सक्ने अरू सम्भावित स्थानको पहिचान गरी उक्त भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको उनले बताए ।
सर्वसाधारणको आवत–जावत बढी हुने भएकोले भारतसँग खुला सीमा नाका भएको सुनसरीको भण्टाबारी नाका बढी संवेदनशील मानिएको छ । अरू नाका भन्दा बढी मानिस आवत–जावत हुने र संवेदनशील मानिएका कारण भण्टाबारी नाकामा कोरोना भाइरसका सङ्क्रमित भेटिएमा त्यसका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने निर्णय भएको एसपी ढकालले जानकारी दिए ।
कोरोना भाइरस हालसम्म नभेटिए पनि सर्वसाधारण त्रसित भएको पाइएको बताउँदै ढकालले त्रसित नभई सचेत हुन आग्रह गरे । ‘भारतबाट सीमा नाका हुँदै कोरोना भाइरस भित्रिन नदिन हरसम्भव प्रयास गर्ने निर्णय गरेका छौं’ उनले भने, ‘त्यसैले सर्वसाधारण आत्तिनु हुँदैन बरु सचेत हुनुपर्ने आवश्यकता छ ।’ भारतसँग सीमा जोडिएका जिल्लाका सीमावर्ती क्षेत्रहरूमा कोरोना भाइरस पत्ता लगाउने साधनस्रोतसहित स्वास्थ्यकर्मी टोलीले हेल्थ डेस्क स्थापन गरी आवत–जावत गर्नेहरूको स्वास्थ्य जाँच गर्दै आएका छन् । सावधानी अपनाएर सतर्क रहन र कोरोनाको लक्षण देखिएको अवस्थामा तत्काल स्वास्थ्यकर्मी वा नजिकैको प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
सीमा नाकामा आवत–जावत घट्यो
कोरोना भाइरस त्रासका कारण सीमामा आवत–जावत गर्नेहरूको सङ्ख्यामा कमी आएको छ । अत्यावश्यक कामबाहेक अरूबेला खासै सर्वसाधारण सीमावर्ती क्षेत्रमा आवत–जावत नगर्ने गरेको बिओपी भण्टाबारी हरिपुरका इन्स्पेक्टर प्रेमसिंह विष्टले जानकारी दिए । भण्टाबारी नाकामा पहिलाको तुलनामा ५० प्रतिशत नेपाली तथा भारतीय नागरिकको आवत–जावतमा कमी आएको उनको भनाइ छ । ‘दुवै देशका नागरिक आवत–जावत गर्ने हिसाबले भण्टाबारी जिल्लाकै व्यस्त नाका हो’ उनले भने, ‘सामान्य अवस्थामा दैनिक हजारौंको सङ्ख्यामा आवत–जावत हुने गथ्र्यो । तर, अहिले कोरोना भाइरसका कारण ह्वात्तै सङ्ख्या घट्दो क्रममा रहेकोे छ ।’ कोरोना भाइरसको त्रासले नेपालबाट भारतीय बजारमा गएर उपभोग्य वस्तु किनमेल गर्न जाने सर्वसाधारणको सङ्ख्यासमेत घटेको छ ।