दमक/ झापाको दमक नगरपालिकाले जथाभावी फोहोर फ्याँके मोबाइल एप्सबाट थाहा पाउने व्यवस्था गरेको छ ।
नगरबासीले जहीँतहीँ फोहोर फ्याँकेमा दमक नगरपालिकाले मोबाइल एप्समार्फत् थाहा पाउने गरी व्यवस्था मिलाएको हो । जसबाट अब कसैले फोहोर फ्याँकिहालेमा त्यसको निगरानी मोबाइल एप्सले नै गर्नेछ । फोहोर फ्याँकेको तस्बिर दमक नगरपालिकाले मोवाईल एप्सबाट सङ्कलन गर्नेछ ।
नगरका नागरिकलाई एप्सबारे जानकारी गराउँदै फोहोर फ्याँकेको तस्बिर नगरपालिकामा पठाउन सिकाइने भएको हो । सोही आधारमा कसले फोहोर फ्याकेको हो उसलाई कारबाहीको दायरामा ल्याउने नगरपालिकाको वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।
दमक नगरपालिकाले सोमबार वातावरण तथा विपद् समितिको बैठकमा मोबाइल एप्स निर्माण गर्ने जनाइएको हो । दमकलाई सफा तथा स्वच्छ बनाउने अभियानअन्तर्गत मोबाइल एप्स बनाउने रणनीति लिइएको छ । नागरिक आफै स्वस्फुर्त रूपमा नलागेसम्म फोहोर व्यवस्थित नहुने तर्क ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाको छ ।
‘दमकबासी फोहोर गर्नेलाई कारवाही गर्नुपर्छ भनेर स्वस्फुर्त लाग्दैनन् तबसम्म हामीले कल्पना गरेको सफा र सुन्दर शहर हुँदैन’–उनले भने । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिककै सहयोगमा दमकलाई सफाइ गर्ने बताए । ‘दमकबासी फोहोर फाल्नु हुँदैन भन्ने कुरमा सचेत छन् । यही कुरालाई एउटा नीति बनाएर मात्र कार्यान्वयन गर्न आवश्यक तयारी गरिएको हो । नागरिकको चाहना र मागअनुसारबाटै दमक सफा गर्ने नीति बनाएका हौं’–मेयर ओलीले भने ।
उनका अनुसार अहिले दमक ५० प्रतिशत मात्र सफा रहेको छ भने न्यूनतम ९० प्रतिशत पु¥याउने नगरको लक्ष्य रहेको छ । यसका लागि दकमका वित्तीय संस्था, पेशागत सङ्घ–सङ्गठन, उद्योग बाणिज्य सङ्घलगायतसँग समन्वय गर्ने संयोजक प्रकाश अधिकारीले बताए । त्यस्तै वडा वडाका टोल विकास संस्था, बाल क्लब, महिला समूहसँग पनि हातेमालो गरेर अगाडि बढ्ने नीति लिएको छ ।