उदयपुर/ उदयपुरको सदरमुकाम गाईघाटमा मकै पोलेर केही परिवारले आम्दानीको स्रोत बनाइरहेका छन् ।

त्रियुगा नगरपालिका–२ का तारा कार्की र विमला विष्टको परिवारले मकै पोलेरै जीवन धानिरहेका हुन् । करिब एक दशकदेखि सडक पेटीमै मकै पोलेर परिवारको गुजारा गर्दै आइरहेका छन् ।

यही कामबाट घरपरिवार र छोराछोरी पढाउँदै आइरहेको छन् । कुनै बेला सिजनको समयमा मात्रै हरियो मकै पाए पनि अहिले बाह्रै महिना मकै पाइने कार्कीले बताइन् । उनका अनुसार दैनिक २ सय घोगासम्म मकै बिक्री हुने गरेको छ ।

दैनिक २ देखि ३ हजार रुपैयाँसम्मको मकै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । १० रुपैयाँदेखि ३० रुपैयाँ घोगासम्म मकै बेच्ने गरेका छन् । उनीहरूले सडक पेटीमा बसेर नै व्यापार धानिरहेका छन् । कृषकको बारीबाट मकै खरिद गरेर यहाँ ल्याइपु¥याउँदासम्मको दुःख र मेहनतअनुसार कमाइ नहुने विष्ट बताउँछिन् ।

‘आफ्नो दुःख र मेहनत जोड्ने हो भने कुनै फाइदा छैन । तर, घर परिवार चलाउनै प¥यो’–उनी भन्छिन् । सिजनमा भने मकैको बिक्री कम हुने गरेको छ । अफसिजनका बेला पोलेको मकै बढी बिक्री हुने गरेको उनीहरूको अनुभव छ ।

वर्षाको समयमा भने उनीहरू घरकै काममा व्यस्त हुने गरेका छन् । त्यो बेला झरी र पानीका कारण पनि बिक्री गर्न कठिनाइ हुने गरेको उनीहरूको अनुभव छ ।

Makai-poldai_photo