धनकुटा/ धनकुटा जिल्लामा पछिल्लो समय आत्महत्याको घटना वृद्धि भएको पाइएको छ । आ.व.०७६÷७७ को पछिल्लो ८ महिनाको अवधिमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ३८ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको मुद्दा शाखाले जानकारी दिएको छ ।
अघिल्लो तीन वर्षको अवधिमा महिनामा बढीमा ३८ जनाको ज्यान गएको थियो । तर यो क्रम यस वर्ष बढ्दो रूपमा रहेको प्रहरीको मुद्दा शाखा स्रोतले जनाएको छ । जिल्लामा विगत तीन वर्षको अवधिमा १ सय १२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७३/७४ मा ३८ जना, ०७४/७५ मा ३७ र ०७५/७६ मा पनि ३७ जनाले आत्महत्या गरेको मुद्दा शाखाको रेकर्डमा उल्लेख छ ।
आत्महत्याको अवस्थालाई धनकुटा जिल्लामा तुलना गर्दा तीन वर्षको अवधिमा सबैभन्दा बढी धनकुटा नगरपालिकामा ३७ जना, महालक्ष्मी नगरपालिकामा १७ जना, साँगुरीगढी गाउँपालिकामा १६ जना, चौबिसे गाउँपालिकामा १६ जना, छथरजोरपाटी गाउँपालिकामा ११ जना, पाख्रीबास नगरपालिकामा १३ जना र शहीदभूमि गाउँपालिकामा २ जना गरेर १ सय १२ जना पुगेको हो । जिल्लाको ७ स्थानीय तहमध्ये शहीदभूमि गाउँपालिकामा भने आत्महत्या गर्नेको सङ्ख्या २ जना अर्थात् सबैभन्दा न्यून रहेको छ भने सबैभन्दा बढी धनकुटा नगरपालिकामा ३७ जना पुगेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार फागुन २ गते ९ वर्षीय एक बालक पासो लगाएर झुण्डिएको अवस्थामा घरनजिकै मृत भेटिए । छथर जोरपाटी गाउँपालिका–२ का विवेक तामाङले विद्यालयको पोसाकमै आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं. ३ का शैलु लिम्बूले गत भदौ ३१ गते १२ वर्षकै उमेरमा आत्महत्या गरेका थिए । त्यसैगरी सोही गाउँपालिकाको वडा नं. ४ जोरपाटीका १७ वर्षीय भरत लिम्बूले कात्तिक २९ गते झुण्डिएर आत्महत्या गरेका थिए ।
धनकुटा नगरपालिका वडा नं. ६ स्कुलडाँडाका ५० वर्षीय लालबहादुर पुर्कुटीले पनि गत असोज २३ गते आफ्नै घरनजिकैको खन्युको बोटमा झुण्डिएर आत्महत्या गरेका थिए । यसरी शृङ्खलाबद्ध आत्महत्याको घटनालाई नजिकबाट नियालेर हेर्दा बालबालिका र किशोरावस्थाका व्यक्तिले बढी ज्यान गुमाएको देखिन्छ । आत्महत्याको घट्नालाई न्यूनीकरण गर्न समुदायमा सचेतनामूलक कार्यक्रमको आवश्यकता देखिन्छ ।