पाँचथर/ तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित तीनसल्लेमा बिहीबार २८ वर्षीया बिन्दा पुरीको विभत्स हत्या भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो हतियारले घाँटी रेटेको अवस्थामा बिन्दाको शव फेला परेको थियो ।
गाउँलाई नै स्तब्ध पार्ने गरी भएको बिन्दा हत्याकाण्डमा उनका दुई जना देवरहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सङ्क्रान्तिका इन्स्पेक्टर शेशकराम थान्दारका अनुसार बिन्दाको हत्या उनकै देवरहरू सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेका हुन् ।
हत्याको प्रमुख कारण पैसा देखिएको इन्स्पेक्टर थान्दारले बताए । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका दाइले भाउजूलाई मात्र पैसा पठाइदिँदा आफूहरूले पैसाको चलखेल गर्न नपाएकाले बिन्दाको हत्या गरेको उनीहरूले प्रहरी समक्ष बयान दिएको इन्स्पेक्टर थान्दारले बताए ।
हत्यामा संलग्न सुरेन्द्र झापाको बुधबारे र बालकृष्ण तेह्रथुमकै फेदापको औंशीडाँडामा बस्दै आएका थिए । उनीहरूले दश वर्षीय छोरा र १५ महिनाकी छोरीसँग बस्दै तीनसल्लेमै बस्दै आएकी बिन्दाको योजना बनाएरै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।