विराटनगर/ प्रदेश १ मा साढे दुई वर्षमा ३४ जना अपहरणमा परेका छन् । उक्त घटनामा ४५ जना संलग्न रहेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४÷०७५ मा १६ जनाको अपहरण भएकोमा २५ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमा २१ पुरुष र ४ महिला रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी शेखर कोइरालाले जानकारी दिए ।
आर्थिक वर्ष ०७५÷७६ मा ११ वटा अपहरणको घटनामा १३ जना पक्राउ परेको प्रदेश प्रहरीको अभिलेखमा उल्लेख छ । जसमा १० पुरुष र ३ जना महिला छन् । १३ जना फरार रहेको बताइएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्म ७ वटा अपहरणको घटनामा ६ पुरुष र १ महिला पक्राउ परेको एसएसपी कोइरालाले जानकारी दिए । यसैक्रममा सोमबार २ जना अपहरणको नाटक गर्ने दुई पक्राउ परेका छन् ।
सोमबार मिटरब्याजमा लिएको पैसा फिर्ता गर्न मोरङ बूढीगङ्गा गाउँपालिकाका एक युवाले अपहरणको नाटक गरेका थिए । आफ्नै बुबालाई आफू अपहरणमा परेको जनाउँदै बुबाबाट २१ लाख रूपैयाँ फिरौती लिएका थिए । बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीका २४ वर्षीय मुकेशकुमार महतोले बुबा शिवनारायणसँग १८ लाख नगद र ३ तीन लाखको चेक लिएका थिए ।
मोरङ प्रहरीका इन्स्पेक्टर ऋषिराज ढकाल नेतृत्वको टोली र १ नम्बर प्रदेश प्रहरी विराटनगरबाट खटिएको विशेष टोलीले अपहरणको नाटक गरी फिरौती रकम लिने महतो र अपहरणमा साथ दिने बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीका २५ वर्षीय कृष्ण राजवंशीलाई नियन्त्रणमा लिन सफल भएको छ । कृष्ण विगत दुई वर्षदेखि मुकेशका बाबु शिवनारायणले सञ्चालनमा ल्याएको ‘पूर्वाञ्चल कन्स्ट्रक्सन’ मा काम गर्दै आएका थिए । पाँच वर्षदेखि बाबुको व्यवसाय सम्हाल्दै आएका शिवनारायणले ढुङ्गा र गिट्टीको कारोबार गर्थे ।
गत शुक्रबार मुकेशले आफू अपहरणमा परेको नाटक गरेका थिए । तीन दिनपछि सोमबार मुकेश र कृष्णलाई प्रहरीले पक्राउ गरेपछि अपहरणमा परेको नाटकको पर्दाफास भएकोमोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । मुकेशलाई सुनसरीको भण्टाबारी र कृष्णलाई बूढीगङ्गाबाट पक्राउ गरिएको हो । ‘मुकेशले ५ लाख रूपैयाँ मिटर ब्याजमा लिएको सापटी बढेर ९६ लाख तिर्नुपर्ने भनिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ’ डिएसपी राईले भने । अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएपछि बाबुसँगै रकम असुल्न अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता राईले बताए ।
फिरौती रकम लिएपछि यसरी परे फन्दामा
गत शुक्रबार दिउँसो १० बजे मुकेश घरबाट हिँडेका थिए । त्यसको एक घण्टापछि मुकेशको मोबाइलबाट बाबु शिवनारायणको मोबाइलमा छोरा अपहरणमा परेको हिन्दीमा म्यासेज आयो । ‘तपाईको छोरा अपहरणमा प¥यो । छोरालाई जिउँदै लैजान मन छ भने ३० लाख रूपैयाँ लिएर मैले भनेको स्थानमा आउनू’ भन्ने म्यासेज शिवनारायणको मोबाइलमा आएको थियो ।
‘बिहीबार र शुक्रबार आफू लहानमा रहेको जानकारी दिँदै मुकेशले ३० लाखबाट शुरू भएको फिरौती रकम २१ लाखमा आएर बाबु शिवनारायणले दिने तयार भएका रहेछन्’ डिएसपी राईले भने, ‘१८ लाख नगद र ३ लाख रूपैयाँको चेक शिवनारायणले आफ्ना छोराले भनेको स्थान विराटनगरको एयरपोर्ट मोडमा सोमबार पु¥याउँदा त्यहाँ फिरौती रकम लिन कृष्ण पुगेका रहेछन् ।’
फिरौती रकम बुझेका दिन सोमबारै प्रहरीले मुकेश र कृष्णलाई पक्राउ गरेको डिएसपी राईले बताए । कृष्णले फिरौती रकम बुझेपछि १६ लाख ५३ हजार मुकेशको खातामा जम्मा गरिदिएका थिए । प्रहरीले १६ लाख ५३ हजार र ३ लाख रूपैयाँ बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई बुधबार अदालतमा म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।