इटहरी/ इटहरीमा एकपछि अर्को ठगीधन्दा मौलाउँदै गएको छ । इटहरीका सुमन क्षेत्रीले पर्चुगल लैजाने भन्दै लाखौं ठगी गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा लाने भन्दै सुनसरी र मोरङका ८ युवाबाट साढे ८ लाख रुपैयाँको दरले रकम उठाएर उनी सम्पर्कविहीन बनेका छन् । नेपाली सेनाबाट अवकासप्राप्त इटहरी–४ का लीला तामाङका अनुसार पोर्चुगल पठाउने भन्दै रकम लिएर सुमन अहिले फरार भएका छन् । ‘विदेशमा राम्रो कमाइ हुने भनेपछि जाने निर्णय गरेको थिएँ, अहिले नराम्ररी फसेँ’–उनले भने ।

मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभन देखाउँदै रकम लिएको उनले बताए । अघिल्लो वर्षको कात्तिक महिनादेखि सुमन फरार रहेको पनि उनले बताए । आफू ठगीमा परेको भए पनि प्रशासनले कुनै सुनुवाइ नगरेको उनले बताए । श्रम कार्यालय, प्रजिअ कार्यालय र प्रहरी कार्यालयमा बारम्बार धाए पनि आफूहरूको विषयमा सुनुवाइ नभएको बताए ।

भोजपुरका कुमार भुजेलले युरोपेली मुलुक रूवाण्डा पठाउने भन्दै आफूलाई पनि ठगेको बताए । उनले आफूले सुमनलाई ८ लाख रुपैयाँ बुझाएको बताए । रकम बुझाएको करिब तीन महिनापछि भिसा लागेको भन्दै दिल्ली पु¥याएर पुनः पोर्चुगल पठाउने भन्दै आफूलाई नेपाल ल्याएको बताए ।

पोर्चुगल उडाउने भन्दै दोस्रोपटक भुजेलसहित ४ जनाको टोलीलाई अजरबैजान लगियो । तर, त्यहाँको विमानस्थलमा कार्यरत प्रहरीले नक्कली भिसा भएको आरोपमा चारैजनालाई ‘डिपोट’ गरी दुबई पठायो । भुजेल र तामाङसँगै धरानका श्यामभक्त श्रेष्ठ, राजेश राई ठगिएका हुन् । मोरङका सञ्जीव गड्तौला, मुकेश माझी, किरण लुइटेल र तनहुँका बृखबहादुर गुरुङ पनि ठगिएका छन् । उनीहरूले साढे ८ लाखका दरले सुमनलाई रकम बुझाएको बताए ।

‘पोर्चुगलमा स्याउ टिप्ने काममा मासिक एक लाख हुन्छ भन्दै सर्वसाधारणलाई ठगी गरेका थिए । अहिले आफूहरूले पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको भए पनि क्षेत्री सम्पर्कमा नआउने गरेको पीडितको गुनासो रहेको छ ।