भण्टाबारी/ सुनसरीको विभिन्न नाका हुँदै दैनिक रूपमा प्रतिबन्धित बोइलर कुखुरा भित्रिने गरेको पाइएको छ ।
जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै तस्करी गरेर भारतबाट अवैधरूपमा तस्करहरूले प्रतिबन्धित बोइलर कुखुरा भिœयाउने गरेको पाइएको हो । पछिल्लो तीन दिनको अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट दुई लाख मूल्य बराबरको बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको जनाएका छन् । भारतबाट अवैध रूपमा ल्याइएको १ लाख ३० हजार मूल्य बराबरको प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेर सशस्त्र प्रहरीले मङ्गलबार बिहान नष्ट गरेको छ ।
बिओपी साहेवगञ्ज र बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट ल्याइएको उक्त मूल्य बराबरको कुखुरा बरामद गरेर सशस्त्र प्रहरी नेपाल नम्बर ४ गण हेक्वा सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठ, पशुक्वारेण्टाइन भण्टाबारीका डाक्टर अनित घिमिरे, स्थानीय जनप्रतिनिधि, कुखुरा व्यवसायीको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी सुनसरीबाट सइ गणेशबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले भारतबाट को. १ च ७३९१ नम्बरको म्याजिकमा ल्याइएको बिलविजक नभएको ९० हजार मूल्य बराबरको बोइलर कुखुरा मङ्गलबार बिहानै बरामद गर्नुका साथै चालक इटहरी उपमहानगरपालिका १७ बस्ने रामबाबु साहलाई समेत नियन्त्रणमा लिएको छ ।
कोशी गाउँपालिका वडानम्बर ५ स्थित कुम्याही क्षेत्रबाट म्याजिकमा ल्याइएको कुखुरा नष्ट गरेर चालक र गाडीलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल (बिओपी) साहेवगञ्जबाट सइ कृष्णबहादुर मगर नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा ४० हजार मूल्य बराबरको कुखुरा बरामद गरेको छ । भारतबाट को.२० प ४३१६ नम्बरको अपाची मोटरसाइकलमा बिलबिनै ल्याइएको बोइलर कुखुरा नष्ट गरिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले समेत जिल्लाका विभिन्न स्थानबाट बोइलर कुखुरा बरामद गरी नष्ट गरेको जनाएको छ । भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपाल भिœयाइने त्यस्ता कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पु¥याउने गरिएको छ । नेपालमा २ सय ३० देखि २ सय ८० केजीसम्म पाइने कुखुराको मासु भारतमा भने १ सय ४० देखि १ सय ६० रुपैयाँ केजीसम्म पाउने गरेको छ ।
प्रहरीको सक्रियता
पछिल्लो केही दिनयता प्रहरीले सक्रियता बढाएसँगै सुनसरीको विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको छ । खासगरी जिल्लाको श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भिœयाउने गरिएको छ ।
भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता कुखुरा र कुखुराजन्य पदार्थको तस्करी रोक्न कुखुरा व्यवसायीको माग छ । खुला सीमा नाकाका कारण सुनसरीको विभिन्न नाका हुँदै भारतबाट सीमामा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा प्रतिबन्धित भारतीय कुखुरा भित्रिने गरेको स्थानीयको आरोप छ ।