भद्रपुर / नेपाल–भारतको सीमा नाकामा गाईगोरु तस्कर र भारतीय एसएसबी वीच झडप भएको छ । झडमा तीनजना भारतीय एसएसबीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको भारतको सिलगुढीको एक अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ ।
नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवल गाउँपालिकास्थित घेराबारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो सङख््यामा गाईगोरु विहार राज्यस्थित किशनगञ्ज जिल्लाको सिङघमारी नाकाबाट भारत लैजादै आइरहेका थिए ।
घेराबारीबाट सिङ्घमारी गाईगोरु लैजाने क्रममा शनिबार राती ८ बजे गाईगोरु तस्कर र भारतीय एसएसबी बिच झडप भएको थियो । एसएसबी १९ बटालियन सिङ्घमारी बीओपी क्याम्प नजिकै उक्त घटना भएको एसएसबीको डिप्टी कमान्डर नवीन कुमार रायले जानकारी दिए । एसएसबीका अनुसार नेपालबाट ठूलो सङ्ख््यामा गाईगोरु आइरहेको सूचना पाएपछि तीन जना एसएसबीका जवान गाईगोरु नियन्त्रणका लागि नाका तर्फ गएका थिए ।
तस्करको समुहले फलामको रड प्रहार गरेर भारतीय प्रहरी घाइते
तीन जना एसएसबीले गाईगोरु नियन्त्रणमा लिएपछि घटनास्थलमा रहेका पाँच जना तस्करले उनीहरूमाथि खनिएका थिए । पाँच जनाले एसएसबीबाट गाईगोरु छुट्टाउन नसकेपछि उनीहरूले थप ३० देखि ४० जनाको समूहलाई घटनास्थलमा बोलाएका थिए । तस्करको समूहले तीन जना एसएसबीलाई उल्टै नियन्त्रणमा लिएर फलामको रड, लट्ठीसहित ढुङ्गामुढा गरी कुटपिट गरेका थिए । तस्करको कुटपिटबाट एसएसबीका जवान मनिकन्दन, वसीम र जाफतको अवस्था चन्ताजनक रहेको एसएसबीको ड्युटी कमान्डर रायले बताए । उनीहरूको सिलगुढीको अस्पतालमा आइसीयुमा उपचार भइरहेको उनले जनाए । तीन जवानमाथि कुटपिट भएपछि उनीहरूलाई बचाउन थप एसएसबी टोली घटनास्थल पुगेपछि तस्करहरू फरार भएका थिए । राती भएकोले उनीहरूको पहिचान गर्न सकिएन,’ उनले भने । घटनास्थलबाट दुई वटा मोटरसाइकल बरामद भएको उनको भनाई छ । यता जियापोखर थाना अध्यक्ष शिवकुमार प्रसादका अनुसार बरामद गरिएका दुई वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको बताए ।
गाईगोरु तस्करी रोकिएन
झापाको दक्षिणी नाकाबाट गाईगोरु तस्करी गतिविधि अझै रोकिएको छैन । स्थानीय सुरक्षाकर्मीको सेटिङमा ठुलो सङ्ख्यामा दिनहुँ गाईगोरु कचनकवल गाउँपालिकास्थित घेराबारी नाकाबाट भारत निकासी भइरहेको उल्लेखित घटनाले पुष्टि गरेको छ । घेराबारीसहित कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट ठुलो सङ्ख्यामा गाईगाई भारत तस्करी भइरहेको छ । गाईगोरु भारतहुँदै बङ्गलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ । भारतको उत्तर प्रदेशबाट सर्लाही जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा ल्याइन्छ । झापाको दमक, घैलाडुब्बा, झापा बजार, भद्रपुर ,राजगढमा भण्डार गरी त्यहाँबाट जिल्लाका विभिन्न नाका प्रयोग गरेर गाईगोरु भारत पठाइन्छ ।