धनकुटा/ धनकुटाको एक निजी विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्राको सोमबार साँझ रहस्यमय तरिकाले मृत्यु भएको छ ।

धनकुटा–७ स्थित तुलसी मेमोरियल सेकेण्डरी बोर्डिङ स्कुलकी व्यवस्थापन सङ्कायमा अध्ययनरत दिनिषा राईको रहस्यमय तरिकाले आफ्नै कोठामा मृत्यु भएको हो । कान्छीआमाले खाना खान बोलाउने क्रममा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारेकी थिइन् ।

मङ्गलबार बिहान प्रहरी पुग्दा मृतक राईको घाँटीको सलको पासो काटिएको अवस्थामा भेटिएको थियो । राईले आफू सुत्ने कोठामा बाँसको बलोमा सलको पासो लगाएर आत्महत्या गरेको बताइए पनि शव भूइँमा रहेको तथा पासो लगाएको सल काटिएको अवस्थामा फेला परेको थियो ।

मृतकको दाहिने स्तनमा कालो दाग भेटिएको छ भने बायाँ हातमा निलडाम भेटिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । मृतक राई नाताले आफ्नो सानोबुबा पर्ने आशिष खड्काको घरमा एसईईपछि बसेर पढ्दै आएकी थिइन् । सानीआमा शान्ता खड्का वैदेशिक रोजगारीमा बाहिर गए पनि १५ दिनअघि मात्रै जानकारीबिनै अकस्मात घर आइपुगेको प्रहरीले बताएको छ ।

प्रहरीले पति–पत्नी दुवैलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर बयान लिएको स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा बताए । घटनाको विषयमा आवश्यक अनुसन्धान गर्न पत्नी शान्ताले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरीसमेत दिएको बुझिएको छ ।

मृतक छात्रा सानैदेखि अभिभावकविहीन भएकाले धनकुटा–४ को मदन–आश्रित बाल पुनःस्थापना केन्द्रले पालन–पोषण गरेको थियो । कक्षा १० सम्म केन्द्रले नै पढाएको भए पनि एसईई उत्तीर्ण भएपछि उक्त बोर्डिङमा अध्ययन गर्दै आएको बाल पुनःस्थापना केन्द्रका संस्थापक अध्यक्ष गोपाल गुरागाईंले बताए । निजलाई डेढ वर्षको उमेरदेखि बालपुनस्र्थापना केन्द्रमा राखेर हुर्काएको अध्यक्ष गुरागाईंले बताए । उनले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरेर सत्य–तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदर्शन कोइरालाले भने घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । उनले घटना कसरी घटेको हो खुल्न नसकेको र अनुसन्धान भइरहेको बताए । यता विद्यालयका प्रिन्सिपल नन्द न्यौपानेले सोमबार साँझ मृत्यु भएका छात्रा आफ्नो विद्यालयको जेहेन्दार छात्रा भएको बताएका छन् । उनले घटनाले आफू र आफ्नो विद्यालय परिवार दुःखी भएको बताएका छन् । न्यौपानेले घटनाको विषयमा सत्य –तथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।