सङ्खुवासभा/ सङ्खुवासभा जिल्लाको भोटखोला–२ बाट पाँच केजी अवैध सुन तस्करीमा संलग्न रिञ्जिन भोटे ३ लाख धरौटीमा छुटेका छन् । पाँच किलो सुन ओसार–पसारमा संलग्न गाडी चालक भोटेलाई जिल्ला अदालत चैनपुरले ३ लाख धरौटीमा रिहा गरेको हो ।
पाँच किलो सुन ओसार–पसारमा संलग्न चालक रिञ्जिनलाई तारिखमा रिहा गरेको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम प्रसाईंले जानकारी दिए । गत असोज २७ गते भोटखोला गाउँपालिका–२ बाट पाँच किलो अवैध सुनसहित तोप्चेन भोटे पक्राउ परेका थिए ।
प्रहरीले तोप्चेनको बयानका आधारमा खाँदबारी–१ का जर्को भोटे र चालक रिञ्जिन भोटेलाई पक्राउ गरेको थियो भने तस्करीमा संलग्न चार जना अझै फरार रहेको बताइएको छ । प्रहरीले विशेष सुराकीका आधारमा चीनबाट किमाथाङ्का नाका हुँदै नेपाल ल्याउने क्रममा अवैध पाँच किलो सुन चेपुवाबाट पक्राउ गरेको थियो ।
३० करोड २६ लाख बिगो दाबी
अवैध सुन तस्कारीमा संलग्न ६ जनालाई राजश्व अनुसन्धान विभागले जिल्ला अदालत चैनपुरमा ३० करोड २६ लाख बिगो दाबीसहित मुद्दा गत मङ्सिर १० गते दर्ता गराएको थियो । विभागले विदेशी विनिमय अपचलनको कसूरमा १५ करोड १३ लाख र राजश्व चुहावट गरेको आरोपमा १५ करोड १३ लाख गरी बिगो दाबी गरेको सूचना अधिकारी डिल्लीराम प्रसाईंले बताए ।
राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले तोप्चेन भोटे, रिञ्जिन भोटे, जर्को भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । उनीहरूले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको बयान दिएका थिए ।
अवैध ५ किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई राजस्व अनुसन्धान विभागले ३ करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित अन्य फरार चार जनाविरुद्ध १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको छ ।
सुन तस्करीमा संलग्न अन्य चार जना भने फरार भएको स्रोतको भनाइ छ । फरार चारैजना भोटखोला गाउँपालिकाका हुन् । सुन तस्कारी गर्नेहरूले एक–अर्काको बैङ्क खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको विभागले जनाएको छ ।