भण्टाबारी/ विश्वभर नै ठूलो महामारीको रूप लिइरहेको कोरोना भाइरस भारतबाट भित्रिन नदिन सीमामा सतर्कता अपनाइएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड– १९) नेपालसँग खुला सीमा जोडिएको भारतमा समेत सङ्क्रमित भेटिएपछि सुनसरीको सीमामा तैनाथ प्रहरीले उक्त भाइरस भित्रिन नदिन सतर्कता अपनाएको हो ।

भारतसँग खुला सीमा नाकाका कारण संवेदनशील मानिएको सुनसरीको भण्टाबारी नाकामा सशस्त्र प्रहरीले सोमबार जनचेतनामूलक कार्यक्रम गरेको छ । खासगरी भारतमा कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि सुनसरीको भण्टाबारीमा भारतीय एसएसबी, जनप्रतिनिधि, सर्वसाधारण, सरोकारवालालगायतको उपस्थितिमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी नेपाल नम्बर ४ गण हेकुवा सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी नेपाल नम्बर ४ गण हेकुवा सुनसरीको आयोजना तथा बोर्डर आउट पोष्ट (बिओपी) भण्टाबारी र भारतीय एसएसबी बिओपी शैलेशपुरको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कोरोना भाइरसका लक्षण र त्यसबाट बच्न अपनाउन सकिने उपायका बारेमा जानकारी गराइएको थियो ।

भारतमा सङ्क्रमित भेटिएको र खुला सीमा भएकोले उताबाट कोरोना भाइरस सुनसरीको नाका हुँदै नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरेर जनचेतनामूलक कार्यक्रम गरिनुका साथै सतर्कता अपनाइएको डिएसपी श्रेष्ठको भनाइ छ । आवश्यक साधन स्रोत उपलब्ध नहुँदा चेकजाँच गरेर सङ्क्रमित पत्ता लगाउन तत्काल सम्भव नदेखिए पनि सीमामा जनचेतनामूलक कार्यक्रम गर्दै सशस्त्र प्रहरी र एसएसबीको संयुक्त सहकार्यमा हेल्प डेस्क राखेर त्यस्ता सङ्क्रमित पत्ता लगाउने कार्यको थालनी गरिएको छ ।

कोरोना भाइरस हालसम्म नभेटिए पनि ढुक्क भएर बस्न नहुने बताउँदै डिएसपी श्रेष्ठले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि अग्रिम सतर्कता अपनाउन सबैमा आग्रह गरे । कोरोना भाइरस पत्ता लगाउने साधन स्रोत उपलब्ध नभए पनि लक्षण देखिएमा त्यसबाट तत्कालै सचेत हुन उनको सुझाव छ ।

भारतबाट कोरोना भाइरस भित्रिन नदिन सीमामा प्रहरीले सर्वसाधारणलाई सतर्क गराए पनि हेल्प डेस्कमा एक जना पनि स्वास्थ्यकर्मी उपलब्ध छैन । सीमामा तैनाथ सुरक्षाकर्मी आफैले कोरोना भाइरससम्बन्धी सन्देशमूलक पर्चा वितरण गर्दै सुनसरी जिल्लाका विभिन्न नाकाबाट आवत–जावत गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आएका छन् । यद्यपि सुनसरीको भण्टाबारी नाकासँग सीमा जोडिएको भारततर्फ भने दुवैतर्फबाट आवत–जावत गर्नेहरूलाई आवश्यक साधन स्रोत र स्वास्थ्यकर्मीको टोलीसहित चेकजाँच गर्दै आएको छ ।

दिनहुँ हजारौंको सङ्ख्यामा सर्वसाधारण ओहोर–दोहोर गर्ने भण्टाबारी नाका हुँदै संसार भरनै ठूलो महामारीको रूपमा फैलिएको कोरोना भाइरस भारतबाट भित्रिन नदिन सीमा क्षेत्रमै जनचेतनामूलक कार्यक्रम र हेल्प डेस्क स्थापना गरिनु सकारात्मक कुरा भए पनि साधन स्रोतसमेत उपलब्ध गराउनका लागि पहल गर्न उक्त कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् ।

कोशी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने नाकामा आयोजना गरिएको कोरोना भाइरसविरुद्धको जनचेतनामूलक कार्यक्रममा बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्ट, भारतीय एसएसबी बिओपी शैलेशपुरका एसआई जागगिर, कोशी गाउँपालिका वडानम्बर ८ का अध्यक्ष विन्देश्वर यादव, सरजुग सरदार, सत्रुघन चौधरी, धर्मकुमारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतको उपस्थिति थियो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना भाइरसबाट बच्न सदरमुकाम इनरुवा, कोशी ब्यारेज, भण्टाबारीसहित विभिन्न स्थानमा उक्त भाइरसको लक्षण र बच्ने उपायका बारे चेतनामूलक पर्चा वितरण गर्दै विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।