इनरुवा /. छिमेकी मुलुक भारत जहाँ ३० जना बढीमा कोरोनाको संक्रमण भेटिएको छ ।  रोटी र बेटीको सम्वन्ध रहेको भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिदा खुल्ला सीमाका कारण नेपालमासमेत त्यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ । तर त्यसका लागि सरकारले सिमानामा सर्तकता अपनाएको छैन् । सुनसरीमा मात्रै भारतसँग खुल्ला सीमा जोडिएको ६५ किलोमिटर क्षेत्र छ । सो खुल्ला सीमाबाट सहजै जोकोही आवातजावत गर्न सक्छन् ।
सुनसरीका प्रमुख नाका बाहेकका सबै सीमा जोडिने भेगमा सुरक्षाकर्मीको उपस्थिती छैन् । जसको कारण समेत खुला जमिनलाई दुवै देशका नागरिकले आवश्यक्ता अनुरुप आवतजावतका रुपमा प्रयोगमा ल्याउदै आएका छन् ।
कोरोनाले विश्व आक्रान्त भैरहँदा नेपाल सरकारले समेत सावधानीका लागि सार्वजनिक अपिल देखि मातहतमा आवश्यक तयारी सहितको निर्देशन जारी गर्दा सुनसरी सिमानामा भने कुनै सर्तकता अपनाएको छैन् ।
खुल्ला सीमाका कारण तस्करी नियन्त्रणलाई शुन्यमा झार्न नसकेको सुरक्षा निकायका लागि कोरोना नियन्त्रणका कदम चाल्नु गर्नु पक्कै सहज नहोला । उसका लागि आवश्यक स्रोत साधन समेत उपलब्ध छैनन् । हेल्थ डेस्क राखिएका छैनन् । निर्वाध रुपमा नाकाबाट भारत र नेपाल आवतजावतको क्रम चलिरहेको छ ।
प्रदेश सरकारले सबै नाकामा सुरक्षा सर्तकता सहितको हेल्थ डेस्क राख्न निर्देशन दिएको भए पनि सुनसरीका नाकामा भने सो व्यवस्था हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेत कोरोना सम्वन्धि कुनैपनि गतिविधि सीमामा संचालनमा भएको भन्ने विषय आफ्नो जानकारीमा नभएको बताउँछ ।
प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल स्वास्थ्य कार्यालयले डेस्क सहितको व्यवस्था मिलाउनु पर्ने बताउँछन् । पोखरेलले सुरक्षाकर्मीको उपस्थितीमा कोरोना विरुद्धको कुनैपनि गतिविधि संचालनमा नभएको बताए । पोखरेलले आफुहरुलाई कुनै पनि निर्देशन प्राप्त नभएको जानकारी दिए ।
सुनसरीमा भाण्टाबारी सहित लौकही, श्रीपुर, साहेबगञ्ज, कप्तानगञ्ज, घुस्की, चिमडी जस्ता नाका बढी मात्रामा प्रयोगमा आउने गरेका छन् । भाण्टाबारीमा दिनहुँजसो भारतीयहरुको ठुलो जमघट हुने गर्छ । कोशी ब्यारेज सहित कोशी टप्पु आरक्षका साथै पूर्वको भेडेटार सम्मको अवलोकन र भ्रमणमा दैनिक दजनौं सवारी सहित भारतीय नागरिक सुनसरी भित्रिने गर्छन् ।
बिहार लगायतका क्षेत्रमा मदिरा सेवनमा रोक रहेकाले समेत दैनिक ठुलो संख्यामा युवा जमात सुनसरीको भाण्टावारी, लौकही, इनरुवा, इटहरी जस्ता क्षेत्रमा निर्वाध आउजाउ गर्ने गरेका छन् ।
खुल्ला सीमा भएकैले भारतीय बजारमा गई किनमेल गरी फर्किनेको लर्को लामो छ । त्यसमापनि सुरक्षाकर्मीको आँखा छली जहिकहीँबाट आउजाउ गर्नेको जमात समेत सुनसरीमा उत्तिकै छ ।
भारतसँगको सिधा सम्वन्ध मात्रै नभएर कामदार सहित अन्य विविध हिसाबले दुई देशीय आउजाउ निर्वाध रहेको सुनसरीका नाकामा हेल्थ डेस्क सहितको तयारी थाल्न ढिला गर्न नहुने संचारकर्मी राजेन्द्र पोखरेल बताउँछन् ।
भारतमा संक्रमितको संख्या थपिदै गर्दा खुल्ला नाका रहेको सुनसरीमा संक्रमण नआउँला भनी यकिनसाथ दाबी गर्न नसकिने उनको भनाई छ । पोखरेल दुर्घटना निम्तनु पहिलानै सावधानीमा जुट्नु उत्तम हुने बताउँछन् ।
उता स्वास्थ्य कार्यालय सुनसरी सम्भावित कोरोना संक्रमणको विषयमा अलमलमै देखिएको छ । कार्यालय प्रमुख सागर प्रसाईका अनुसार केही स्थानीय तहमा सचेतना कार्यक्रम संचालनमा ल्याइएका छन् । स्थानीय तहमा क्रमशः स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण गराई जनचेतना अभिवृद्धिका लागि परिचालनको तयारी भैरहेको प्रसाईले बताए ।
त्यसको अलावा धरानमा १० वेडको आइसोलेटेट वार्ड राखिएको बताउने प्रसाई इनरुवा अस्पतालमा समेत वेड राख्ने तयारीमा जुटेको बताउँछन् । उनले सीमामा भने अहिले सम्म कुनै हेल्थ डेस्क संचालनमा आईनसकेको बताए । ठोस निर्देशन र स्रोत साधन अभावमा के गर्ने नगर्ने भन्ने विषयनै अन्यौलमा रहेको प्रसाईको भनाई छ ।
भाण्टाबारी नाकामा डेस्क संचालन ल्याउने निर्णय भएको बताउने प्रसाईले डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवश्यक सुरक्षित पोशाक नभएकाले संचालनमा ल्याउन नसकिएको बताए । उनले स्रोत साधन अभावमा सबै स्थानमा डेस्क संचालनमा ल्याउन भने नसकिने जनाए । प्रसाईले भारतको दिल्लीमा कोरोना संक्रमण देखिएको हुँदा त्यसको असर सुनसरीमा नपर्ला भनि ढुक्क साथ रहन भने नमिल्ने बताए । उनले सर्वसाधारणलाई स्वयं सचेत र सावधानी अपनाउन समेत आग्रह गरे ।
खुल्ला नाकाका कारण सुनसरी संवेदनशील रहेकोे स्वास्थ्य प्रमुखको भनाई र कार्यालयबाट भएगरेका तयारी पर्याप्त नदेखिएको बताउने स्वास्थ्यका जानकारहरु सुनसरी सँगको खुल्ला नाका कोरोना संक्रमण र संक्रमित भित्र्न नदिने सवालमा अहिले सम्म भगवान भरोषेको अवस्थामा रहेको बताउँछन् ।
यता सुनसरी प्रशासनले केन्द्रको आदेश बमोजिम जिल्लामा सभा, सम्मेलन र भेला जस्ता कार्यक्रममा रोक लगाएको छ । होली पर्वलाई सामान्य रुपमा मात्रै मनाउन प्रशासनले आग्रह गरेको छ । त्यसको अलावा अन्य रोकथामका कार्यहरु भने प्रशासनबाट हुन नसकेको स्थानीयहरुको भनाई छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल भने केन्द्रको सर्कुलर अनुरुपको सुनसरीमा समेत सावधानी अपनाइएको बताउँछन् । उनले स्वास्थ्य कार्यालयलाई स्वास्थ्यकर्मीलाई बिदामा नछाड्न भनिएको बताए । शंकास्पद व्यक्ति भेटिए उपचारकालागि समन्वय गर्न स्वास्थ्य संस्थाहरुलाई भनिएको पौडेलले बताए ।
सीमामा हेल्थ डेस्क राख्ने विषयमा भने तत्कालकालागि आवश्यक्ता महसुस नगरिएको प्रजिअ पौडेलले बताए । उनले भारतसँग सीमा जोडिएका नाकाहरुमा निर्वाध आउजाउ भएपनि हेल्थ डेस्क संचालनमा ल्याउनु पर्ने अवस्था भने तत्काल महसुस नगरिएको सुनाए । उनले भाण्टाबारीमा डेस्क राख्ने विषयमा बैठकमा चर्चा भएपनि आवश्यक्ता महसुस गरेपछि मात्र राखिने जानकारी दिए । प्रशासनले स्थानीय स्तरमा भने सावधानी अपनाउन सचेतना कार्यक्रमहरु संचालनमा ल्याउन निर्देशन दिइएको जनाएको छ ।
उता प्रशासनको तयारी र भनाईलाई सीमावासीले भने व्यङग्य गर्दै भगवान भरोषेको संज्ञा दिएका छन् । उनीहरु भन्छन्, “ सुनसरीमा कोरोना आउँदैन् , किनकी यहाँ भैरहेको तयारी देख्दा कोरोना भित्रिन नदिने जिम्मेबारी भगवान भरोषामा छाडिएको छ ” । उनीहरुले विश्वव्यापी बन्दै गएको कोरोनालाई वेवास्ता नगर्न सुझाउँदै सुनसरी प्रशासन सहित जिल्ला स्थित सरोकारवालाहरुलाई दुर्घटना निम्तनु पूर्वनै आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन् ।