इटहरी/ रोजगारीका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै सपना बुन्छन् कि जसरी होस् परिवारलाई खुशी बनाउन सकुँ । भविष्यलाई सबल बनाउने युवाहरू चिया पसलहरूमा कुराकानी गरिरहेका हुन्छन् ।

इटहरीका प्रकाश राई, दिनेश राई, देव खड्का र इन्द्रकिसान राई मिलेर भेटघाट र छलफलपछि साझेदारी व्यवसाय गर्ने सोच बन्यो । अनि इटहरी–१ आँपगाछीमा उनीहरू मिलेर नेपाली कागज उद्योग खोल्ने योजना अघि बढ्यो । त्यसैले सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनीहरू ।

आफ्नो ठाउँमा नेपाली कागज उद्योग र अचार उद्योग सञ्चालन गरेर स्थानीय १४ जनालाई रोजगारी पनि दिएका छन् उनीहरूले । काम केही झन्झटिलो भए पनि आफ्नै देशमा रोजगारी गर्ने र रोजगारी दिने हुँदा खुशी भएको सञ्चालकमध्येका दिनेश राईले बताए । कच्चा पदार्थ पाउन भने केही समस्या हुने उनको भनाइ थियो ।

दिनमै लगभग ३ हजार नेपाली कागज उत्पादन गरेर बजारमा लैजाने गरेको सञ्चालकमध्येका इन्द्रकिसान राईले बताए । ‘गुणस्तरलाई ध्यान दिएर उत्पादन ग¥यो भने बजारमा समस्या छैन’ उनले भने, ‘आम्दानीभन्दा पनि स्वरोजगारको हिसाबले हेर्नु पर्छ । रोजगारको अवसर राम्रो छ, व्यवसाय गरेर डुब्छ भन्ने हुँदैन ।’

आफ्नै सीप र प्रविधि प्रयोग गर्न धेरै ज्ञान पनि नचाहिने उनले बताए । उद्योगमा उत्पादित कागजको माग सरकारी कार्यालयहरूमा बढी उनीहरू नै बताउँछन् । शुरुवातमा लगानी मात्रै उठाएको उद्योगले अहिले आम्दानी दिएको छ । स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनीहरूको भनाइ छ ।

२०७१ सालदेखि स्थानीय युवाहरूले आफ्नै बलबुताले गरेको कामलाई स्थानीयले मन देखि प्रशंसा गरेका छन् । घाम लागेको समयमा कागज धेरै उत्पादन हुने उद्योगले जनाएको छ । स्थानीय कच्चा पदार्थको प्रयोगबाट नेपाली (हाते) कागज बनाउन भन्दै स्थानीय चार युवाको सक्रियतामा स्थापना भएको उद्योगले बजार अभावको समस्या झेल्नुपरेको छैन । यस्तै विदेश जान सपना बुनेर बसेका अधिकांश युवाहरूलाई पनि यी युवाहरूको कामले केही गर्न सक्ने आँट दिएको छ ।

बजार माग उच्च
बजारमा नेपाली कागजको माग उच्च छ । ‘गुणस्तरीय नेपाली कागज नेपालबाहिर बढी जान्छ, नेपालमै पनि खपत हुन्छ’ उद्योग सञ्चालकमध्येका दिनेश राईले भने, ‘हामीले स्थानीयलाई रोजगारीसमेत दिएका छौं, कमाइ पनि ठीकठीकै छ ।’

काम गर्न असहज नहुने भएको कारण कामदारको समस्या नभएको उनी बताउँछन् । अर्गेली (लोक्ता) नेपाली कागज निर्माणको मुख्य कच्चापदार्थ हो । अर्गेलीको बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ । नेपाली कागज उत्पादनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल (प्लाष्टिक सोडा) मात्रै हो । त्यो पनि पूर्वी नेपालका मुख्य बजारमा पाइन्छ ।

केमिकल बाहेकको कच्चापदार्थ स्थानीय तहमै पाइने भएकाले कागज उद्योग फस्टाउने क्रममा छ । इटहरीमा उत्पादन भएको नेपाली कागजको मुख्य बजार इनरुवा, धनकुटा, विराटनगर, भोजपुर र बाँकी काठमाडौं जाने गरेको छ । तर, उद्योगमै आएर पनि व्यापारीले कागज लिने गरेका छन् ।

कच्चापदार्थहरू बाबियो, अर्गेलीलगायतबाट बन्ने नेपाली कागज र त्यसको माग नेपाली बजारमा उच्च छ । घाम नलाग्दा र हुस्सु लाग्दा भने उत्पादनमा समस्या आउने गरेको उनी बताउँछन् । नेपाली कागज विशेष गरेर लामो समयसम्म राख्नुपर्ने दस्तावेज निर्माणका लागि तयार पारिन्छ । सरकारी अड्डाअदालतदेखि गाउँघरमा तमसुक, बकसपत्रलगायतका काममा प्रयोग गरिन्छ नेपाली कागज ।

पहिले पहिले नेपाली कागजमा हातले लेखिएकोलाई मात्र आधिकारिक मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै आजभोलि नेपाली कागज कम्प्युटरमा प्रिण्ट गर्न मिल्नेखालका उत्पादन हुन थालेको छ । नेपाली कागज बलियो र किराले नखाने खालको भएकाले सरकारी कामकाजमा यसलाई बढी प्रयोग गरिन्छ । कागजको माग नेपालबाहिर भारत हुँदै विश्वका धेरै मुलुकमा छ ।