भण्टाबारी / सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्वी टोलबाट चोरी गरी लगेका चौपाया भारतीय चोरले फिर्ता गरेका छन् ।
कोशी गाउँपालिका–८ का वडासदस्यसमेत रहेका शनिचर यादव र अर्का स्थानीय असरफी कामैतको गोठबाटै मङ्गलबार राति चोरेर लगेका आठवटा चौपाया भारतीय चोरले बिहीबार फिर्ता गरेका हुन् । स्रोतका अनुसार भारतीय चोरहरूको समूहले चौपाया धनीबाट बिचौलियामार्फत् २ लाख नेपाली रुपैयाँ लिएर चोरिएका चौपाया फिर्ता गरिदिएको हो ।
सीमावर्ती क्षेत्रमा चौपाया चोरको बिगबिगी बढिरहेको बेला प्रहरीले गस्ती गरिरहेकै क्षेत्रबाट स्थानीय जनप्रतिनिधिकै चौपाया चोरी हुँदा स्थानीय आक्रोसित भएका थिए । वडासदस्य यादवको २ वटा भैंसी र दुईवटा पाडा र कामैतको १ थान भैंसी र १ थान गाई तथा एक बाच्छा र एक पाडा गरी ८ वटा चौपाया चोरी भएकोमा भारतीय चोरहरूको समूहले ७ वटा चौपाया फिर्ता गरेको स्थानीयले जानकारी दिए ।
जनप्रतिनिधिकै चौपाया चोरी हुँदा समाजमा गलत सन्देश प्रवाह भएको र सुरक्षार्थ खटिएका प्रहरीको लापरबाही देखिएकोले त्यसतर्फ ध्यान दिन वडासदस्य यादवले माग गरे । भारतसँग सीमा जोडिएको जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय चोरको आतङ्क बढ्दो क्रममा रहेको छ । जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूमा दिनहुँजसो सानोतिनोदेखि ठूलो चोरीका घटना हुने गरेका छन् ।
यसरी जिल्लाका विभिन्न स्थानबाट भारतीय चोरहरूले चोरी गरेर लगेका चौपाया बिचौलियामार्फत् पैसा लिएर छाड्ने गरेका छन् । चोरहरूले चोरी गरेर लगेका चौपाया फिर्ता लान बिचौलियामार्फत् पैसा माग्ने गरेका छन् । फिरौती रकम तिर्नेको चौपाया घरसम्म ल्याइदिने गरे पनि नदिनेको चौपाया भने चोरहरूले नै बेच्ने गरेका छन् । ‘अधिकांश पिछडिएका समुदाय बसोबास रहेको जिल्लाका सीमावर्ती क्षेत्रबाट भारतीय चोरले लगेका चौपाया फिरौती दिएर फिर्ता गराउन सबैको आर्थिक अवस्थाले पुग्दैन’–नाम उल्लेख न गर्ने शर्तमा एक स्थानीयले भने ।
त्यस्तालाई सीमामा खटिएका प्रहरीले सुरक्षा दिने कि नदिने ? नियमित गस्ती गर्दै आएको प्रहरीले दाबी गर्दै आए पनि प्रहरीले गस्ती नगर्दा नै चोरीका घटना हुने गरेको ती व्यक्तिको दाबी छ । भारतीय प्रहरीकै संरक्षणमा चौपाया चोरीका घटना हुने गरेको आरोप लगाउँदै सीमा सुरक्षा बैठकमा यस्तो विषय उठान गरेर चोरी नियन्त्रणमा पहल गर्न नेपाल प्रहरी र प्रशासनसमक्ष स्थानीयले आग्रह गरेका छन् ।






























