विराटनगर/ चालु आर्थिक वर्षको सात महिनामा टिपरको ठक्करबाट प्रदेश १ मा ११ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म २४ वटा सवारी दुर्घटना भएकोमा ११ जनाको मृत्यु र २६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको अभिलेखअनुसार सबैभन्दा बढी दुर्घटना मोरङमा भएको छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्याङ्कअनुसार मोरङमा ९ वटा दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् । जसमध्ये पनि मोरङको घिनाघाट–विराटचौक सडक–खण्डमा सबैभन्दा बढी दुर्घटना हुने सडक–खण्डमा पर्दछ ।

प्रदेशको सुनसरी, मोरङ, झापा सबैभन्दा बढी टिपर दुर्घटना हुने जिल्ला हो । सुनसरीमा ४ वटा टिपर दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु नभए पनि ९ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । झापामा २ वटा टिपर दुर्घटनामा परी १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष ०७५/७६ मा ३४ वटा टिपर दुर्घटनमा परी २० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको माघसम्म प्रदेशमा ८ सय ५८ वटा सवारी दुर्घटनामा परी २ सय २२ जनाले ज्यान गुमाएका छन् । ५ सय ६४ गम्भीर घाइते र ९ सय २६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा सवारी दुर्घटनमा परी मृत्यु हुनेको सङ्ख्यामा कमी देखिएको छ । आर्थिक वर्ष ०७४/७५ मा १ हजार २ सय ७९ वटा दुर्घटना भएकोमा ४ सय २४ जनाको मत्यु भएको थियो । गम्भीर घाइते ९ सय ७४ र सामान्य घाइते १ हजार ९८ जना भएका थिए । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष ०७५/७६ मा ५१ जना सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको हो । आर्थिक वर्ष १ हजार २ सय ९८ वटा दुर्घटनामा परी ३ सय ७३ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते ९ सय ३४ र सामान्य घाइते १ हजार ३ सय ५२ जना भएका थिए ।

पछिल्लो समय टिपर तीव्र गतिमा दौडाएको देखेर डर लाग्ने गरेको विराटनगर– १९ का बन्नालाल चौधरीले बताए । ‘टिपर कुदाएको देखेर आफैलाई खान आएको जस्तो लाग्ने गरेको छ’ उनले भने, ‘घिनाघाट–विराटचौक सडकमा गुड्ने टिपर तीव्र गतिमा आउँछ । तीव्र गतिमा हुइँक्याइनाले ठूलो टिपरका अगाडि मोटसाइकल चलाउँदा मन डरले काम्ने गर्दछ ।’ उनी मात्र होइन, अधिकांश दुईपाङ्ग्रे सवारी चालक हिजोआज घिनाघाट –विराटचौक सडक–खण्डमा टिपर देख्दा आत्तिने गरेको बताउँछन् ।

ट्राफिक प्रहरी टिपर चालक कम उमेर र जीर्ण सडकमा तीव्र गतिले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँदा दुर्घटना हुने गरेको बताउँछन् । घिनाघाट–विराटचौक सडक फोर लेन सडक निर्माणको क्रममा सवारी चालकले लापरबाही तरिकाले चलाउँदा दुर्घटना हुने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख राकेशकुमार पोद्दारले बताए । साँघुरोे सडकमा चालकले तीव्र गतिमा गुडाउनाले दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना रोक्न सचेतता अभियानसँगै विभिन्न कार्यक्रम पनि जिल्लाहरूमा सञ्चालन भएको उनले बताए ।