बिर्तामोड(ब्लाष्ट) झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । भवनको शुक्रबार एक समारोहका बिच महान्यायधिवक्ता अग्नि खरेलले शिलान्यास गरेका छन् ।
२०१२ सालदेखि पठन–पाठन शुरु भएको दुर्गा माध्यमिक बिद्यालयमा २०७० सालमा ‘गरामनी क्याम्पस’ स्थापना भएको थियो । बिद्यालय र क्याम्पसको पठन–पाठन एकै स्थानमा हुँदा समस्या उत्पन्न भइरहेको थियो । बिद्यालय र क्याम्पस एकैथलोमा रहनु नहुने अवधारणा अनुरुप अर्कै स्थानमा क्याम्पसको लागि भवन निर्माण हुन लागेको हो ।

क्याम्पसककाे भवन निर्माणका लागि उद्यमी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड–७ मा २ करोड बढी मुल्य पर्ने ९ कठ्ठा जमिन प्रदान गरेका छन् । जमिन उपलब्ध भएपछि क्याम्पसको ब्यवस्थित र सुविधासम्पन्न भवन निर्माण शुरु भएको हो । जमिन प्रदान गर्नुका अतिरिक्त पाण्डे परिवारले क्याम्पसको सहज रुपमा सञ्चालनको लागि एक करोड रुपैयाको अक्षयकोष स्थापना गरेका छन ।

भवन निर्माणका लागि प्रदेश सभा सदस्य एकराज कार्कीको क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको ५० लाख रुपैया प्रदान भएको प्रधानाध्यापक केशब रेग्मीले जानकारी दिए । सो रकमले ५ कोठाको क्याम्पस भवन निर्माण गरिने समेत उनले बताए । असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी भवनको ठेक्का लगाउने तयारी भइरहेको उनले बताए । भवन निर्माणका लागि आगामी आर्थिक बर्षमा थप बजेट बिनियोजन गरेर निर्माण सम्पन्न गरिने उनले बताए ।

गरामनी क्याम्पसमा ब्यवस्थापन संकाय अध्ययन अध्यापन भइरहेको छ । १ सय २५ जना बिद्यार्थी गरामनी क्याम्पसमा अध्ययन गर्दै आएका छन् । भवन निर्माणपछि क्याम्पसमा प्राविधिक शिक्षा अध्ययन गर्ने वाताबरण बन्ने बिश्वास लिएको बताइएको छ ।