विराटनगर/ मोरङको रङ्गेली अस्पतालमा गर्भवती महिला र बच्चाको उपचारको क्रममा मृत्यु भएपछि छानबिन कमिटी गठन भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रम्भा देवको संयोजत्वमा मङ्गलबार सात सदस्यीय कमिटी गठन भएको हो ।

डा. देवको नेतृत्वमा मङ्गलबार साँझ छानबिन कमिटी गठन भएपछि पीडित पक्षको आन्दोलन रोकिएको छ । प्रसूतिका लागि अस्पताल भर्ना भएकी रङ्गेली नगरपालिका–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र शिशुको सोमबार मृत्यु भएको थियो ।

प्रसूति गराउन पुगेकी गर्भवती सरदार र बच्चाको उपचारका क्रममा मृत्यु भएपछि रङ्गेली अस्पताल तनावग्रस्त बनेको थियो । घटनाको छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउन डा. देवको नेतृत्वमा छानबिन कमिटी बनेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख इन्स्पेक्टर लेखनाथ दाहालले बताए । गठित समितिले एक साताभित्र घटनाको छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउनेछ ।

मङ्गलबार रङ्गेली अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनोज भण्डारी, रङ्गेली नगरपालिका प्रमुख दिलिप बगडीया, मोरङ प्रहरीका डिएसपी मानबहादुर राई, अस्पतालका कर्मचारी र पीडितपक्षका चार जनाको उपस्थितिमा छानबिन कमिटी गठन भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै आफन्तले मङ्गलबार दिउँसोसम्म अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।

शिशु मृत जन्माएकी सरदारको स्वास्थ्य अवस्था थप गम्भीर हुँदासमेत डाक्टरले समयमै उपचारमा ध्यान नदिएकोले मृत्यु भएको आफन्तको आरोप थियो । मृतक सरदारका ठूलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रिफर नगरेको बताए ।अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अशोक ठाकुरले सरदार प्रसूति गराउन आउँदा शुरुमा ठीकै रहेको स्वीकारे ।

डा. ठाकुरले प्रसूति गराउँदा आमा र शिशुको साल छुट्टिने बेलामा एम्योलिक फ्युड इम्बोलिजमका कारण आमालाई समेत असर हुनसक्ने बताए । उनले शिशु जन्मदा धड्कन नभएपछि करिब ४५ मिनेट सीपीआरमा राखेर उपचार गराउँदा समेत बच्चा नफर्किएको जानकारी दिए ।