भद्रपुर/ दक्षिणी झापाको कचनकवलमा एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव शङ्कास्पद अवस्थामा भेटिएको हो ।

कचनकवल गाउँपालिका–२ स्थित झापा हर्दसभिट्टा गाउँकी १४ वर्षीया विष्णुमाया कार्की झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुण्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला परेको हो ।

बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हुन सक्ने स्थानीय बताउँछन् । तीन दिनअघि घरबाट हिँडेकी बालिका चिया बगानको नाला नजिकै झुण्डिएको अवस्थामा फेला परेको श्रेष्ठले बताए । उनले आत्महत्या गरेको हो वा हत्या भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले ले बताए ।

बालिकाको शव कुहिएको अवस्थामा फेला परेकाले घरबाट हराएकै दिन नै बालिकाको मृत्यु भएको हुनसक्ने उनले जनाए । शरीरमा कुनै पनि चोटपटक फेला नपरेको उनको भनाइ छ ।

झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थाहा पाएलगत्तै बिर्तामोडस्थित बी एण्ड सी अस्पतालका कानूनी चिकित्सक डा.अर्चना चौधरीसहित प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताए । घटनास्थल हेर्दा शङ्कास्पद देखिए पनि त्यस्तो केही प्रमाण नभेटिएको उनले बताए ।

बालिकाको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाउँदै रिपोर्ट आएपछि मात्र घटनाबारे बताउन सकिने उनले जनाए ।