विराटनगर/ चोखो माया गरेको प्रेमीले बेच्ला भनेर कसले कल्पना गरेको हुन्छ ? यस्तै नसोचेको घटना व्यहोर्नु प¥यो मोरङको धनपालथान गाउँपालिकाकी १७ वर्षीया एक किशोरीले ।

मन र मुटु दिएको प्रेमी २२ वर्षीय सञ्जय मण्डलले आफ्नो भिनाजुसँग मिलेर विवाहको बहाना बनाई भारतमा पु¥याएर बेच्न खोजेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई पक्राउ गरेको छ । सञ्जय हाल फरार छन् । पक्राउ परेका जगतनारायण सञ्जयका भिनाजु हुन् । जगत पक्राउ परे पनि सञ्जय फरार भएकोले उनको खोजीकार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

मण्डललाई प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले घरबाट आइतबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका जगतका सालो सञ्जय मण्डलको ती किशोरीसँग प्रेमसम्बन्ध रहेको थियो । सञ्जयका भिनाजु जगतले नेपालको कानूनअनुसार विवाहको लागि किशोरीको उमेर उपयुक्त नभएकोले दुवैको विवाह भारतमा लगेर गरिदिने भन्दै दुवैलाई गत वर्षको चैत २८ गते लगेका थिए ।

पीडित किशोरीले मोरङ प्रहरीलाई दिएको जाहेरीअनुसार जगत र उनका सालो सञ्जयले भारत पु¥याएर किशोरीलाई एक होटलमा राखेका थिए । ‘होटलमा पु¥याएपछि बन्द कोठाभित्र दुवैले आलोपालो गर्दै जबरजस्ती करणी गर्ने र करणी गरेपछि ढोका बन्द गरी हिँड्ने गरेका थिए । ‘एक दिन कोठाबाहिर बिक्रीको लागि मोलमलाइ भइरहेको आवाज सुनेपछि मलाई बिक्री गर्न लागेको चाल पाएँ, त्यसपछि होटलको झ्यालबाट हाम्फालेर बाहिर निस्कएँ’ –पीडित किशोरीले दिएको जाहेरीमा उल्लेख छ ।

होटलबाट हाम्फालेर बेचिनबाट जोगिएकी किशोरीलाई स्थानीय एक महिलाले जोगवनीसम्म आउने रेल चढाइदिएकी थिइन् । उनलाई भारतको कुन ठाउँमा पु¥याएर राखिएको होटल हो, त्यो अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । बेचिनबाट जोगिएर आएकी ती किशोरीले मोरङ प्रहरीमा गत वैशाख ९ गते जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीको आधारमा जगतनारयण मण्डल पक्राउ परेको डिएसपी राईले बताए । जगतका सालो सञ्जय फरार छन् । पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले सोमबार जिल्ला अदालत मोरङमा ‘मानव बेचबिखन’ मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । मण्डल पक्राउ पर्ने डरले गाउँमा लुकीछिपी बस्दै आएका थिए ।