दमक । मोरङको केराबारी–६ यमदलेका २८ वर्षीय यामबहादुर राई १ महिना २२ दिनपछि फिलिपिन्सबाट फर्किए । वैदेशिक रोजगारका लाागि ७ लाख रुपैयाँ तिरेर मकाउ हिँडेका राई फिलिपिन्सबाट फर्किएका हुन् । २०७६ साल मङ्सिर १३ गते मकाउमा काम गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी उडेका थिए । यहाँबाट थाइल्याण्डको बैङ्कक हुँदै उनलाई फिलिपिन्सको मनिला विमानस्थलमा अवतरण गराइयो । मनिलाको मलात्तेमा रहेको एक होटलमा उनलाई काम हुन्छ भन्दै राखियो ।

फिलिपिन्समा त्यहीँकी महिलासँग विवाह गरेर बसेका जीवन पुन मगरले मकाउ पुर्याउने जिम्मा लिएर राईलाई फिलिपिन्स बोलाएका थिए । तर पुन मगरले फिलिपिन्समा भोकभोकै राखेको र बाध्य भएर पारिवारबाट पैसा मगाई नेपाल फर्किएको राईले बताए । राईले धनकुटा–८ स्थायी घर भएका र हाल इटहरी बस्ने सुरज राईलाई ७ लाख रुपैयाँ दिएका थिए ।

१८ महिना कतार र ४ वर्ष मलेसियाको रोजगार सकेर आएका उनी तेस्रो पटकको वैदेशिक रोजगारीमा जाँदा यसरी ठगिए । उनकी दिदीमार्फत् धनकुटा नपा–८ का सुरज राईसँग उनको सम्पर्क भयो । यामबहादुरलाई सुरजले खाडी मुलुकमा भन्दा राम्रो कमाइ र काम पनि सजिलो हुने आश्वासन दिए । उनले युरोप तथा जापान पनि सजिलै पठाउन सक्ने बताए । ‘बेरोजगार थिएँ, धेरै कमाइ हुन्छ भने ऋण गरेर नै भए पनि अलि राम्रै मुलुक जान पाए हुन्थ्यो भन्ने लागेर मकाउ जाने टुङ्गोमा पुगेँ’ –यामबहादुरले भने ।

सुरजले नै मकाउ जाने भनेर गत मङ्सिर १२ गते फिलिपिन्स लगे । ‘त्यहाँ पुगेको केही दिनसम्म त सम्पर्क भयो, कागजपत्र मिलाउँदैछु नआत्तिनु भन्ने आश्वासन पनि दिए । एक महिनापछि भने उनी सम्पर्कबाट बाहिर भए । मसँग न पैसा थियो, न त खानेकुरा नै केही थियो, फिलिपिन्समा १ महिना २३ दिनसम्म बस्नुप¥यो । यस बीचमा तीन दिनमा एक छाक खाना खाएँ । त्यसपछि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सहयोगमा घरबाट खर्च मगाई नेपाल फर्केर आएँ’ यामबहादुरले भने, ‘दलालले ७ लाख रुपैयाँ खाइसकेको थियो भने घर फर्कन थप खर्च मगाउँदा समेत गरी जम्मा मेरो १२ लाख रुपैयाँ सकियो, गाउँघरमा सबैको ऋण लागेको छ ।

कसरी ऋण तिर्ने भन्ने तनावमा छु ।’ उनले थपे, ‘विदेशमा बिग्रिएर आएको भनेपछि साहुहरू घरमा ओइरो लाग्न थालेका छन् । म अहिले अलपत्र भएर सडकमा कुदिरहनु परेको छ ।’

वैदेशिक रोजगारका लाागि ७ लाख रुपैयाँ तिरेर मकाउ हिँडेका राई दलालले पैसा खाएर नक्कली भिसा दिएपछि फिलिपिन्सबाट फर्कनु प¥योे । यामबहादुरलाईजस्तै सुरज राईले मकाउ लैजाने भन्दै अन्य दुईजनालाई समेत ठगेका छन् । सुरजले पाँचथर जिल्लाको याङ्वरक–५ घर भई हाल झापाको बिर्तामोड बस्दै आएका अरुण लिम्बूलाई पनि ठगेका हुन् । मकाउ लगिदिने भन्दै पहिलो चरणमा १ लाख ५० हजार रुपैयाँ सुरजलाई दिएका थिए । २०७४ साल साउन १२ गते ८० दिनभित्र मकाउ उडाउँछु भनेर उनले सुरजलाई रकम दिएका थिए ।

दुवैपक्षले कागज नै बनाएर रकम दिएको अढाई वर्ष बितिसक्दा पनि न अरुण मकाउ पुगे, न त सुरजलाई दिइएको पैसा नै फिर्ता भयो । ऋण गरेर दिइएको त्यो एक लाख ५० हजार साहुलाई तिर्नका लागि अहिले अरुण वैदेशिक रोजगारका लागि मलेसिया पुगेका छन् । त्यो डुबेको रकम उठाउनका लागि अरुणकी श्रीमती सीता लिम्बू दौडधुप गरिरहेकी छन् । यस्तै पाँचथर जिल्लाकै फिदिम नपा–१४ का मनकुमार राईलाई समेत जापान पठाउने भन्दै सुरजले २ लाख ७२ हजार लिएको राईले बताए । तर त्यो रकम बराबरको के काम भयो उनले कुनै पत्तो पाएका छैनन् ।

पीडितहरूले पीडक सुरज राईका विरुद्धमा विभिन्न निकायमा मुद्दा दिएका थिए । वैदेशिक रोजगार विभागमा जाहेरी दिएपछि गत मङ्गलबार सुरजलाई झापाको गौरीगञ्जस्थित नेपाल–भारतको सिमाना महाभारामा लुकेर बसेको अवस्थामा फेला पारेर इलाका प्रहरी कार्यालय दमकमा जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार सुरज राईबाट पीडित भएकाहरू अहिले न्यायका लागि विभिन्न निकायमा हारगुहार गरिरहेका छन् । पीडक सुरज राईलाई महाभारामा पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारमा ठगी गरेर भागेका सुरजलाई जिपिएसबाट खोजी गर्दै जाँदा पत्ता लागेको थियो ।