धरान । धरानको विजयपुर अस्पतालबाट विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा लाँदै गर्दा निधन भएपछि अस्पताल तोडफोडको प्रयास गरिएको छ ।

रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालले ढिलाइ गरिदिँदा निधन भएको आफन्तको आरोप छ । सुनसरी रामधुनी–७ पञ्चायनकी ५ महिने शिशु साहिरा कार्कीको विरानटगर लाने क्रममा मृत्यु भएको हो । ‘विजयपुरमा ११ बजे लगेको थिएँ, हे¥यो, त्यतिखेरसम्म राम्रै छ, बच्चाले आमाको दूध पनि खाइरहेकै थियो’ बच्चीका बुबा राजेन्द्र कार्कीले फोन सम्पर्कमा भने, ‘त्यसपछि वार्डमा लग्यो, डाक्टरले दबाइ लेखिदिएपछि नानी साह्रो भयो । अनि विराटनगर रेफर गरिदिए । विराटनगर लाँदालाँदै बाटोमा खस्यो ।’ बच्चीका आफन्तले अस्पतालको ढिलासुस्तीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

बच्चीका मावलीपट्टीका हजुरबुबा श्रीबहादुर बस्नेतले उपचारमा ढिलासुस्ती गरिदिएका कारण ज्यान गएको बताए । ‘सक्दैनथ्यो भने सकिदैन भनेर चाँडै बिदा गरिदिएको भए हुन्थ्यो नि !’ उनले ब्लाष्टकर्मीसँग भने, ‘उसैको ढिलाइले बच्चीको ज्यान गयो ।’ अस्पताल प्रशासनका अनुसार बच्चीको यसअघि पनि उपचारको लागि ल्याइएको थियो । अस्पतालका अनुसार बच्चामा मुटुको समस्या रहेको थियो ।

मुटुको समस्या भएको नानीमा निमोनिया देखिएपछि जटिल बनेको अस्पताल प्रशासन बताउँछ । ‘यहाँबाट पठाइसकेको छ । कहाँ के भयो, यहाँ आएर आक्रोस पोख्नुभयो’ प्रशासनका एक कर्मचारी भन्छन्, ‘अस्पतालको यसमा कुनै त्रुटि छैन । समयमै बोलाएर पठाएका छौं ।’ अस्पतालका सञ्चालक प्रभाव खतिवडाका अनुसार उपचारका लागि बच्चा आएपछि जाँच गर्दा निमोनिया साथै मुटुमा पनि समस्या भएको पाइएपछि तत्काल पिआइसियुमा राख्न भन्दै रेफर गरिएको थियो ।

‘पिआइसियुमा जानु भनेर रेफर गरिएको थियो, उहाँहरू बीपी प्रतिष्ठान जानुभएछ, त्यहाँ पनि खाली नभएपछि विराटनगर जानु भएछ’ उनले फोनसम्पर्कमा भने, ‘त्यहाँ उपचार गर्दागर्दै मृत्यु भएपछि उहाँहरू उपचारमा केही भएको हो कि भनेर यहाँ आउनु भएको रहेछ ।’ उनका अनुसार आज (बुधबार) ११ बजे छलफल गर्ने गरी अभिभावकलाई घर पठाइएको र बच्चाको शव बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । अस्पतालमा तनाव भएपछि प्रहरीले सुरक्षा प्रदान गरेको छ ।

तस्बिरः उपेन्द्र चाम्लिङ