विराटनगर/ घरबाट घुम्न भनेर हिँडेका झापाको बिर्तामोड–५ का २० वर्षीय अभिषेक कटुवाल मृत अवस्थामा शव फेला परेका छन् ।
मोरङ र सुनसरीको सीमामा पर्ने दुहबी नगरपालिका–१२ बुकडोरीमा शव फेला पारेको हो । शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने भएकोले प्रहरीले हत्या भएको हुनसक्ने भएकोले त्यहीअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । पराल र माटोले छोपेको अवस्थामा उनको निर्वस्त्र शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारत घर भएका कटुवालको बिर्तामोड मामाघर हो । बुबा भारतमै बस्दै आएका उनी आमासँग मामाघरमा लामो समयदेखि बस्दै आएका थिए ।
‘माघ ९ गते घुम्न भन्दै मे.१० प ८६७५ नम्बरको स्कुटर लिएर खड्का बिर्तामोडबाट हिँडेको खुलेको छ’ –सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले भने । घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिइन् । खड्काले घुम्न भनेर लिएर हिँडेको स्कुटर पनि अहिलेसम्म फेला परेको छैन ।
शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मफलर (गलबन्दी) को टुक्राबाहेक अरू केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन–चार दिनअघि नै भएको हुनसक्ने एसपी पोखरेलले बताए । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढङ्गले घटनाको अनुसन्धान शुरु गरिएको छ ।
घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । घटनाको प्रकृति हेर्दा कुनै रिसइबीका कारण हत्या गरेजस्तो देखिने उनले बताए । ‘सबै कोणबाट अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘घटनामा संलग्नको खोजी कार्य जारी छ ।’ शवको अवस्था हेर्दा घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता भएको हुनसक्ने भएकोले प्रहरीले त्यहीअनुसार अनुसन्धानको दायरालाई फराकिलो बनाएर घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको प्रहरीले बताएको छ ।