सङ्खुवासभा/ सङ्खुवासभाको खाँदबारी नगरपालिका–१को हिमालय माविले२० वर्षपछि ७० औं वार्षिकोत्सव मनाएको छ ।

सङ्घीय सांसद राजेन्द्र गौतमले वार्षिकोत्सवको समापन गरे । उनले अगुवा विद्यालयको रूपमा चिनिने विद्यालयलाई नमूना विद्यालय बनाउनु पर्ने बताए । विविध कार्यक्रमका साथ माघ ६ गतेबाट शुरु गरिएको कार्यक्रम बुधबार सम्पन्न गरिएको हो । विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले विद्यालयको प्रतिवेदन प्रस्तुत गरे । विद्यालयले आन्तरिक खेलकुद, नगर स्तरीय मावि छात्र भलिवल प्रतियोगिता, अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरू सञ्चालन गरेको प्रअ राईले जानकारी दिए ।

४३ जना सम्मानित
विद्यालयलाई जग्गादान गर्ने जग्गादाताहरूलाई वार्षिकोत्सवका अवसरमा अभिनन्दन गरिएको छ । जग्गादाता नरमान श्रेष्ठ र नरबहादुर श्रेष्ठका प्रतिनिधि प्रकाश श्रेष्ठ, दानबहादुर मास्के, चन्द्र श्रेष्ठलाई अभिनन्दन गरिएको अभिनन्दन संयोजक ताराबहादुर बुढाथोकीले बताए ।

त्यसैगरी अक्षयकोष दाता टेकनाथ घिमिरे स्मृति छावृत्तिको सञ्जय घिमिरे, गुरुप्रसाद दाहाल स्मृति, ललित शेर्पा स्मृति, कृष्णजङ्ग स्मृति बुद्धिराज बज्राचार्य स्मृति, लाक्पा शेर्पा स्मृति, झषनाथ, हर्कमाया घिमिरे छात्रवृद्धि, हेमराज, अम्बिका न्यौपाने स्मृति, हिमावी २०४३ एसएलसी समूह छात्रवृत्ति, (देव, जमुना, सुरेन्द्र) स्मृति र फणीन्द्र घिमिरे स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

विद्यालयको संस्थापकलगायत २०५७ एसएलसी समूहका तर्फबाट विद्यालयमा स्टेज निर्माण गर्ने पूर्व विद्यार्थी समूहहरूलाई समेत विद्यालयले सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयको विद्यालय गीत निर्माण गरी लोकार्पण समेत भएको थियो । हिमाविले पहिलो पटक दीर्घशिक्षण सेवा पदकबाट शिक्षक तेजनाथ पोख्रेललाई विभूषित गरेको छ ।

202