इटहरी/ इटहरी बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोर व्यवस्थापन नहुँदा चारकोशे झाडी डम्पिङ साइड बनेको छ । लामो समयदेखि बजारको फोहोर जङ्गलमा फाल्दै आएकोले प्रदूषण बढ्दै गएको छ ।
इटहरीको फोहोर उठाउने जिम्मा पाएको वेस्ट एण्ड इन्भारो म्यानेजमेण्टले इटहरीमा जम्मा भएको फोहोर चारकोशे झाडीमा फाल्दै आएकोले जङ्गल क्षेत्रमा प्रदूषण फैलिँँदै आएको छ । इटहरीबाट प्रत्येक दिन उठाएको फोहोर चारकोशे झाडीमा जथाभाबी फालिँदै आएको छ ।
जङ्गलमा लगेर फोहोर फ्याँकेको तथा फोहोरको उचित व्यवस्थापन गर्न नसकेको इटहरीका सिसी क्यामेरा व्यवसायी नवराज सुवेदीले आरोप लगाए । अहिले बजारमा फोहोर उठाउने कम्पनीले पनि खेलाँची गरिरहेको उनले बताए । एक सातासम्म पनि फोहोर नउठाउने गरेको भन्दै फोहोरको विषयमा इटहरी उपमहानगरपालिका गम्भीर नभएको आरोप लगाए । कुहिने र नकुहिने दुवै प्रकारका फोहोर चारकोशे झाडीमा फाल्ने कार्य रोक्नु पर्ने उनको माग छ ।
चारकोशे झाडीमा फोहोर फाल्दा तरहरा क्षेत्रका सर्वसाधारण मारमा परेको इटहरी –१९ गणेशमान स्मृति पार्कका अध्यक्ष काजीलाल गिरीले बताए । जङ्गलमा फोहोरको डङ्गुर फाल्दा तरहरा क्षेत्र दुर्गन्धित भएको आरोप लगाए । फोहोर फाल्ने कम्पनीको चरम लापरबाही भएको भन्दै यस विषयमा प्रशासनले खबरदारी गर्नुपर्ने माग गरे ।
‘ठाउँ नै छैन कहाँ फाल्ने ?’
इटहरी–२० तरहरामा पर्ने चारकोशे झाडीको केही भाग अहिले फोहोरले भरिएको छ । विकल्प नभएपछि चारकोशे झाडीमा नै फोहोर फालिँदै आएको छ । फोहोर व्यवस्थापनको समस्या समाधान गर्न लामो समयदेखि इटहरी उपमहानगरपालिकाले हेल्चेक्र्याइँ गर्दै आएको छ ।
ठाउँ अभावकै कारण अहिले फोहोर फाल्न चारकोशे झाडी जानु परेको कम्पनीले बताउँदै आएको छ । लामो समयदेखि ठाउँ उपलब्ध गराउन नसक्दा समस्या भएको भन्दै फोहोर फाल्ने कम्पनी पञ्छिदै आएको छ ।
वन क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण गरेर पर्यटकीय केन्द्र बनाउने गरिन्छ । तर सुनसरीमा भने वन क्षेत्र फोहोर फाल्ने डम्पिङ साइडको रूपमा परिणत भएको छ । इटहरीको फोहोर उठाउने ठेक्का पाएको कम्पनीले लामो समयदेखि इटहरी–२० को सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ । फालिएका फोहोरलाई त्यहीँ डढाउनेसमेत गरेको छ ।
फोहोर फाल्ने गाडी गाउ“लेको नियन्त्रणमा
इटहरीको फोहोर फाल्ने कम्पनीले मनपरी रूपमा चारकोेशे झाडीमा फोहोर फालेर जलाएपछि तरहराका स्थानीय आक्रोसित भएका छन् । लामो समयदेखि गुनासो गर्दा पनि फोहोर फाल्ने कम्पनीले अटेर गरेको भन्दै इटहरी–१९ का स्थानीयले आपत्ति जनाएका हुन् ।
चारकोशे झाडीमा इटहरीको फाहोर सङ्कलन गरेर फाल्ने र जलाउने गर्दा धुवाँले स्थानीयवासी आजित बनेका छन् । चारकोशेमा फालेको फोहोर वर्षायाममा गाउँमा बगेर आउने र सुख्खायाममा फोहोर जलाउँदा गाउँ नै दूषित भएको तरहराका युवा अभियन्ता ध्रुव भण्डारीले बताए ।
बुधबार स्थानीयले फोहोर फाल्ने कम्पनीको गाडी नियन्त्रणमा लिएका छन् । वेस्ट एण्ड इन्भारो म्यानेजमेण्टका ३ वटा गाडीलाई तरहरामा स्थानीयले नियन्त्रणमा लिएका थिए । चारकोशे झाडीमा फोहोर फाल्ने र त्यही फोहोरमा आगो लगाउँदा स्थानीयहरू पीडित भएको भन्दै फोहोरको गाडी स्थानीयले नियन्त्रणमा लिएर छलफल गरेका थिए ।
बेवारिसे ल्याण्डफिल्ड साइड
इटहरी–१० मा निर्माणाधीन फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल्ड साइड) अहिले लथालिङ्ग अवस्थामा छ । इटहरी उपमहानगरपालिकाको हेल्चेक्र्याइँको कारण करोडौं रुपैयाँ लागतमा निर्माण भएको उक्त ल्याण्डफिल्ड साइड अहिले सरकारी बेवस्तामा पर्न थालेको छ । लामो समय देखि निर्माणाधीन ल्याण्डफिल्ड साइडको काम अगाडि नबढ्दा फोहोर जङ्गलमा फालिँदै आएको छ ।
इटहरी–१० की सञ्जु उरावले निर्माणको काम अहिले लामो समयदेखि बन्द रहेको बताइन् । ‘खै, पहिला–पहिला त छिट्टै काम हुन्छ भन्थे, वर्षौं बित्दासमेत नगरपालिका मौन छ’ –उनी भन्छिन् । डेढ वर्षअगाडि ल्याण्डफिल्डसम्म जाने बाटो कालोपत्रे भए पनि अहिलेसम्म अन्य काम अगाडि नबढेको उनले बताइन् ।
फोहोरमैला प्रशोधन केन्द्रले वैकल्पिक ऊर्जा तथा प्राङ्गारिक मलसमेत उत्पादन गर्ने भनेर स्थापना भएको ल्याण्डफिल्ड साइड अहिलेसम्म बन्न नसकेको स्थानीयले बताएका छन् । फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थ मन्त्रालयबाट प्राप्त १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहोरमैला प्रशोधन केन्द्र निर्माणाधीन काम बीचैमा रोकिन पुगेको छ ।