भण्टाबारी/ नक्कली भ्याट बिलबाट राजस्व छल्ने कारोबारीमाथि प्रहरीले निगरानी बढाएको छ । त्यस्ता कारोबारीहरूमाथि चेकजाँचसँगै निगरानी बढाएपछि सुनसरीका विभिन्न स्थानबाट अवैधानिक रूपमा राजस्व छल्ने व्यापारीहरूका सामान प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ ।
सुनसरीको कोशी गाउँपालिकास्थित भण्टाबारीबाट केही दिनको अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले नक्कली भ्याट बिलबाट राजस्व छल्दै आएका व्यापारीहरूको १० लाख बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएका छन् । नक्कली भ्याट बिलबाट सुनसरी, मोरङ, झापासहित पूर्वका व्यापारीहरूले राजस्व छल्ने गरेका छन् । विभिन्न बहानामा नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ ।
गत माघ २ गते सीमा प्रहरी चौकी भण्टाबारीबाट सइ कुलबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीस्थित हनुमान मन्दिरबाट चेकजाँचको क्रममा अन्दाजी एक लाख मूल्य बराबरको विभिन्न सामान बरामद गरेको थियो भने बुधबारसमेत सोही क्षेत्रबाट एकलाख मूल्य बराबरकै कपडा नियन्त्रणमा लिएको छ । काँकडभिट्टाबाट जनकपुरतर्फ जाँदै गरेको मे.१ ख १६७५ नम्बरको यात्रुवाहक बसबाट नक्कली भ्याट बिलसहित उक्त मूल्य बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सीमा प्रहरी चौकी भण्टाबारीले जनाएको छ । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले चेकजाँचमा कडाइ गरेदेखि भण्टाबारी क्षेत्रबाट पछिल्लो समयमा नक्कली बिलबाट राजस्व छल्ने कारोबारीका सामान बरामद हुन थालेको हो ।
नक्कली भ्याट बिलबाट राजस्व छल्ने व्यापारीहरूको सामान नियन्त्रणमा लिए पनि उनीहरू भने सम्पर्कमा आउने गरेका छैनन् । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट प्रहरीले चेकजाँचको क्रममा कपडा बरामद गर्दै आए पनि नक्कली भ्याट बिल भएकोले फस्ने डरले प्रहरीले सामान पक्रेर पनि व्यापारीहरू सम्पर्कमा आउन नचाहेका हुन् । चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तीनपटक र सीमा प्रहरी चौकी भण्टाबारीले दुई पटक नक्कली भ्याट बिलसहित सामान पक्रिए पनि नक्कली भ्याट बिलबाट राजस्व छल्ने त्यस्ता गिरोह पूर्वमा अझै सक्रिय रहेका छन् ।
नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने र प्रहरीले पक्राउ गरेपछि व्यापारी सम्पर्कमा आउने गरेका छैनन् । एक नम्बर प्रदेशमा व्यापारिक प्रयोजनका लागि बनाइएको भ्याट बिलबाट त्यसको नक्कली बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेका छन् । आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरे पनि अझैसम्म त्यस्ता गैरकानूनी रूपमा राजस्व छल्ने गिरोह सक्रिय नै छन् । जसले गर्दा त्यस्ता राजस्व छली रोक्न प्रहरीलाई चुनौति थपिएको छ ।
सोझा र केही थाहा नभएका व्यक्तिको नाममा कम्पनी दर्ता गरेर प्रायःजसो नक्कली भ्याट बिल बनाउने गिरोहले राजस्व छल्दै आएका हुन् । सामान्य रूपमा हेर्दा सबै प्रक्रिया सही जस्तै लाग्ने भएकोले यस्ता राजस्व छली रोक्न सूक्ष्म अनुसन्धानको आवश्यकता रहेको जानकार बताउँछन् ।