धरान । दुवै मिर्गौला खराब भएकी धरान ४ की तालकुमारी मगरलाई इजरायलमा रहेका नेपालीबासी र धरानबासीले सहयोग गरेका छन् ।

३८ वर्षीया मगरको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि वैदेशिक रोजगारी अन्तर्गत इजरायलमा रहेकी चन्द्रमाया कोयी राईको पहलमा ९० हजार रुपैयाँ तथा धरानबासीले १४ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोयी धरान ११ निवासी हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी उनलाई प्रतिष्ठानका मेडिसिन विभागका प्रुमख तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्माले रकम हस्तान्तरण गरे । त्यसक्रममा उनले प्रतिष्ठानले सक्दो उपचारमा सहुलियत दिने बताए ।

कोयीले मगरको उपचारका लागि २ सय डलर, राम कँडेलले २ सय ५ सेकल, शैलेन्द्र राईले एक सय १० सेकल, नवराज ओली, उपेन्द्र राई, ज्ञानु सुनुवार, प्रेमशोभा राईले जनही एकसय ५ सेकल इजरायली रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । त्यस्तै कंसिस बान्तवा, पेमु राई, सरु राई, राधिका शाक्य, धना थापा, लक्ष्मी राईले जनही एकसय सेकल इजरायली रुपैयाँ पिडित मगरलाई सहयोग गरेका छन् । इजरायलमै हुने ज्योजी शर्मा, सीता कोइराला र बालकुमार साम्पाङले जनही ५५ सेकल सहयोग गरेका छन् । लक्ष्मी अनुराघी भट्टराई,बाबुकाजी श्रेष्ठ, गीता सुवेदीले जनही ५० सेकल इजरायली रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै वीपी प्रतिष्ठानका डा. अशोक ऐर र धरानका समाजसेवी रोशन राईले जनही ५ हजार र प्रतिष्ठानकै डा. विकास साह र चन्द्रमाया आचार्यले जनही २ हजार रुपैयाँ मगरलाई सहयोग गरेका छन् ।