राजविराज/ सप्तरीको सदरमुकाम राजविराजमा गणतन्त्र वादी नेता रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा र मन्त्री परिषद्को निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीयबासी निराश र आक्रोसित भएका छन् ।

२०७५ भदौ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।

सोही अनुरूप २०७५ पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय पनि ग¥यो । तर प्रधानमन्त्रीको घोषणा र मन्त्रिपरिषद्ले गरेको निर्णय लामो समय बितिसक्दा पनि कार्यान्वयनमा नआउँदा स्थानीयबासी निराश र आक्रोसित भएका हुन् ।

हालसम्म रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय खोल्नुबाहेक अन्य कुनै काम अघि बढ्न नसकेपछि शुक्रबार उद्योग वाणिज्य सङ्घ सप्तरीको अगुवाइमा आयोजित ‘सप्तरीको समग्र विकासको सन्दर्भमा बृहत् छलफल कार्यक्रम’ मा सहभागी समाजका अगुवाहरूले निराशा र आक्रोस व्यक्त गरेका छन् ।

उनीहरूले सप्तरीको विकासलाई प्रत्यक्ष सहयोग पु¥याउने प्रतिष्ठान निर्माण कार्यलाई तीव्रता प्रदान गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले प्रतिष्ठानको काम तीव्र गतिमा अघि बढाउनु पर्नेमा जोड दिए । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, डिपिआर, भूमिको अवस्था र माटो परीक्षणलगायतका प्रारम्भिक कामसमेत अघि बढ्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानको संयोजकत्वमा १५ सदस्यीय समन्वय तथा संवाद समितिसमेत गठन गरिएको छ ।

नवगठित समितिले यस विषयमा सरोकारवालाहरूसँग थप छलफल अघि बढाउँदै विकास योजनाबारे विस्तृत अध्ययन गरी चाँडै अर्को बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने र दबावका लागि गर्ने कार्यक्रमहरूबारे आवश्यक निर्णय लिने तय भएको अध्यक्ष प्रधानले जानकारी दिएका छन् ।