धरान/ अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको चार प्रमुख पदमध्ये उपकुलपति र रजिष्ट्रार पदका आकाङ्क्षीहरू बढेका छन् ।

गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार, रजिष्ट्रार तुलबहादुर श्रेष्ठलगायतलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेपछि निलम्बनमा परेका थिए । त्यसयता प्रतिष्ठानमा अस्पताल निर्देशकबाहेक, कार्यवाहक उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यभार शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले सम्हाल्दै आएका छन् । गत पुस २५ गते प्रतिष्ठानको ४३ औं सिनेट बैठकमा सह–कुलपति स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री संयोजक रहने गरी ३ सदस्यीय सिफारिश समिति गठन गरिसकेको जानकारी दिएका थिए ।

प्रतिष्ठानको उपकुलपति सिफारिस गर्ने समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल रहेका छन् । स्वास्थ्यमन्त्री ढकालसहितको तीन सदस्यीय समितिले प्रम ओलीसमक्ष सम्भावित उपकुलपतिको नाम सिफारिसको आधारमा एकमहिनाभित्र प्रतिष्ठानले नयाँ उपकुलपति पाउने प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले बताए ।

प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल आफै लबिङ गरिरहेका छन् । उनी पूर्वमाओवादी रहेकाले पुष्पकमल दाहालको नजिकका मानिन्छन् । उनी हाडजोर्नी विभागका चिकित्सक हुन् । पछिल्लो समयमा नेकपानिकट मानिएका हाल ग्राण्डी अस्पतालमा कार्यरत डा. अर्जुन कार्की पनि प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा छन् । उनीसँग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर काम गरेको अनुभव छ ।

उपकुलपति बन्नका लागि विराटनगरका विराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र गिरी पनि शक्तिकेन्द्र धाइरहेको चर्चा छ । विराटनगरमै आफ्नै व्यवसायिक अस्पताल सञ्चालन गरेर बसेका गिरी बीपी प्रतिष्ठानको उपकुलपति भएमा प्रतिष्ठानलाई फाइदाभन्दा बेफाइदा पुग्ने प्रतिष्ठानकै वरिष्ठ चिकित्सकहरूले बताएका छन् । जिल्ला अदालत हुँदै उच्च अदालतमा मुद्दा विचाराधीन रहेको सिद्धबाबा प्रकरणमा वराहक्षेत्र चतराका कृष्णबहादुर गिरीलाई आफ्नो नर्सिङ होमको स्त्री तथा प्रसूति विभागमा उपचारको बहानामा राखेको चर्चाले डा. गिरी आलोचित बनेका थिए ।

उपकुलपति नियुक्त भएपछि नयाँ उपकुलपतिले रजिष्ट्रार नियुक्त गर्नेछ । प्रतिष्ठानको रजिष्ट्रार पदका लागि नेकपाका शीर्ष नेताहरूसँग नजिक रहेका धरानका किशोरकुमार कार्कीको नाम व्यापक चर्चामा छ । रजिष्ट्रारका आकाङ्क्षी कार्की कानून र आमसञ्चारका अध्येयता हुन् भने धरानबाट प्रकाशित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक सम्पादक हुन् । कार्कीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई भेटेरै प्रतिष्ठानको स्तरोन्नति गर्ने गुरुयोजनाको फाइल नै बुझाइसकेका छन् । उक्त पदका लागि प्रतिष्ठानकै स्त्री तथा प्रसूति विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मी र विराटनगरका एक आँखा अस्पतालका प्रबन्धक राजेश प्रसाईं पनि दौडमा छन् ।