भद्रपुर । झापाको विर्तामोडमा १० रुपैयाँमा दैनिक शाकाहारी खाना पाइदै आएकोमा शनिबारबाट भद्रपुरमा समेत यो व्यवस्था शुरु गरिएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी सुबोध कोठारीको पहलमा भद्रपुर ५ स्थित प्रेरणा ट्रेडर्स अगाडी १० रुपैयाँमै शुद्ध शाकाहारी खानाको व्यवस्था मिलाइएको हो ।
यो व्यवस्था हप्ताको दुई दिन बुधबार र शनिबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म खाना खुवाउन शुरु गरिएको कोठारीले बताए । हर हर महादेव सेवा नै धर्म ठानेर यो व्यवस्था सञ्चालनमा ल्याएको उनले जनाए । सबैको सहयोग र साथ रहेसम्म कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने लक्ष्य रहेको उनले बताए । अभियानमा स्थानीय व्यवसायी दिलीप वंशल, नन्दु सरावगी, ब्रह्मदेव अग्रवाल, विनय गोयल, मनोज श्रेष्ठ, शिवु गुप्ता लगायतले सहयोग गर्ने जनाएका छन् ।
अभियानको पहिलो दिन एक सय बढीले १० रुपैयाँ तिरेर खाना खाएको व्यवसायी काठोरीले जानकारी दिए । खाना खुवाउने योजना पहिला नै सोच बनाएको बताउँदै ‘स्थानीय उद्योगी व्यवसायीले यस अभियानमा सहयोग गर्छु भनेपछि मैले आँट गरेर अभियान थालेको हो ’उनले भने ।